विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरको मेर्लीबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी विराटनगर क्रिकेट लिग अन्तर्गत बिहीबार भएका खेलहरूमा विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी विजयी भएका छन्।
विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले इलाइट क्रिकेट एकेडेमीमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ। समूह ‘ए’ मा लगातार तीन खेल जित्दै ६ अंकका साथ विराटनगर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।
टस जितेर ब्याटिङ रोजेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रनको सामान्य योगफल तयार पारेको थियो। इलाइटका लागि आशिष मण्डलले ३२ रन र सोनु सिंहले अविजित १७ रन बनाए। बलिङतर्फ विराटनगरका कृतिक कामतले ३ विकेट लिए भने सागर कटवाल र कृष शर्माले २–२ विकेट तथा प्रशान्त साहले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा ९ विकेट गुमाउँदै १०० रनको लक्ष्य पूरा गर्यो। विराटनगरको जितमा सिताराम कामतले २७ रन र कृष शर्माले १७ रनको योगदान दिए। इलाइटका मनिष कामत र राजु विश्वकर्माले ३–३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेलको प्लेयर अफ द म्याच विराटनगरका सिताराम कामत घोषित भए।
यसअघि बिहीबारै भएको पहिलो खेलमा विराट क्रिकेट एकेडेमीले मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीलाई ५ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको मिल्सले २० ओभरमा ७ विकेट गुमाई ९७ रन बनाएको थियो। मिल्सका लागि अमन शेखले ३० रन, रितिक चौधरीले १९ रन र सक्षम ढकालले १७ रन जोडे। विराटको बलिङमा महबुब इराकी र अमर यादवले २–२ विकेट लिए।
९८ रनको लक्ष्य विराटले १५।१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। विराटको जितमा श्रवण यादवले अविजित २३ रन, दीपक पासवानले १८ रन, विशाल ढकालले १७ रन र अनिस राजवंशीले १६ रन बनाए। बलिङमा मिल्सका वैभव राजले २ विकेट र नरेन्द्र कर्णले १ विकेट लिए। विराटलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका महबुब इराकी प्लेयर अफ द म्याच चुनिए।
यस जितसँगै विराट क्रिकेट एकेडेमी ३ खेलमा २ जित र १ हारसहित ४ अंक बटुल्दै समूहको दोस्रो स्थानमा रहन सफल भयो। यद्यपि, शीर्ष स्थानमा रहेको विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी मात्र फाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा इलाइट क्रिकेट एकेडेमी ३ खेलमा १ जित निकाल्दै तेस्रो स्थानमा रह्यो भने मिल्स क्रिकेट क्लब कुनै पनि खेल जित्न नसकी अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।