लोड हुँदैछ...

मेनु

ओखलढुंगामा चुनावी समीकरण फेरियो एमाले त्यागेका अम्बिरबाबुको इन्ट्रीले प्रतिस्पर्धा पेचिलो

ओखलढुंगामा चुनावी समीकरण फेरियो एमाले त्यागेका अम्बिरबाबुको इन्ट्रीले प्रतिस्पर्धा पेचिलो

ओखलढुंगा । ओखलढुंगाको चुनावी राजनीतिमा नाटकीय फेरबदल आएको छ । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई टिकट नदिई युवा नेता अस्मिता थापालाई अघि सारेपछि गुरुङले विद्रोह गर्दै पार्टी परित्याग गरेका छन् । एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका उनले त्यहीँबाट टिकट पाएपछि जिल्लाको राजनीतिक अंकगणित थप रोचक बनेको छ । यसअघि नेकपाले रामकुमार कार्कीलाई उम्मेदवार बनाएर मनोनयन समेत दर्ता गराइसकेको भए पनि अन्तिममा गुरुङलाई आधिकारिक उम्मेदवार बनाएपछि कार्कीले उम्मेदवारी फिर्ता लिएर उनलाई नै समर्थन गरेका छन् ।

गुरुङलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले समेत समर्थन गर्ने भएपछि ओखलढुंगामा अब मुख्य रूपमा चार उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि एमाले र कांग्रेस मात्र चर्चामा रहे पनि अम्बिरको प्रवेशसँगै यो क्षेत्रमा नेकपाको पनि बलियो चर्चा सुरु भएको छ । नेकपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य बाबुराम गौतमले पार्टीको पुरानो आधारभूत मत र अम्बिरको व्यक्तिगत प्रभावका कारण आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

२०७९ को निर्वाचनमा ओखलढुंगाबाट नेपाली कांग्रेसका रामहरी खतिवडा निर्वाचित भएका थिए । त्यतिबेला उनी तत्कालीन माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनबाट विजयी भएका थिए । तर, अहिले माओवादी र एकीकृत समाजवादी एकीकरण भएर बनेको नेकपाले कसैसँग तालमेल नगरी छुट्टै प्रतिस्पर्धा गर्दैछ । गत निर्वाचनको समानुपातिक मतपरिणाम हेर्दा एमाले सबैभन्दा बलियो देखिन्छ । एमालेले २५ हजार २४५ मत पाउँदा कांग्रेसले २३ हजार २९९ मत पाएको थियो । तत्कालीन माओवादीको ७ हजार १७२ र एकीकृत समाजवादीको ४३० मत रहेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजार ४१८ मत प्राप्त गरेको थियो ।

एमाले उम्मेदवार अस्मिता थापाले भने पार्टीभित्रको विद्रोहले आफूलाई कुनै असर नगर्ने दाबी गरेकी छन् । केही व्यक्तिले पार्टी छाडे पनि सिंगो जिल्ला कमिटीको शक्ति एमालेमै रहेको र पार्टी एकढिक्का भएर चुनाव लड्ने उनको भनाइ छ । यद्यपि, एमालेमा उनी बाहेकका अधिकांश पदाधिकारी गुरुङ पक्षकै रहेकाले उनीहरूले औपचारिक रूपमा पार्टी नछाडे पनि चुनावी परिणाममा यसको प्रभाव पर्न सक्ने देखिएको छ ।

यता नेपाली कांग्रेसभित्र पनि विवाद देखिएको छ । कुमार लुइँटेलले टिकट पाएपछि निवर्तमान सांसद खतिवडा पक्षका नेता–कार्यकर्ता मनोनयन दर्तामै सहभागी भएनन् । कांग्रेस नेतृत्वले खतिवडाको स्वास्थ्यमा समस्या भएकाले उनी नआएको भन्दै विवाद नरहेको दाबी गरे पनि खतिवडा पक्षको असन्तुष्टिले कांग्रेसलाई धक्का लाग्ने अनुमान गरिएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका अवकाशप्राप्त एआईजी विश्वराज पोखरेल मैदानमा छन् । पहाडी जिल्लामा रास्वपाको प्रभावबारे मिश्रित प्रतिक्रिया रहे पनि पार्टीले युवाहरूको आकर्षणका कारण आफ्नो पक्षमा माहोल बन्ने दाबी गरेको छ ।

ओखलढुंगामा यसपटक १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख दलबाहेक नेपाल मजदुर किसान पार्टीकी सविना प्रजापति, राप्रपाका डिकप्रसाद बास्तोला र जसपाका नेत्रबहादुर नेम्वाङसहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी दौडमा छन् । चुनावी मैदानमा नारायणकाजी तामाङ, विक्रम दाहाल र सन्तबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गुरुङको विद्रोह र प्रमुख दलभित्रको आन्तरिक कलहले गर्दा ओखलढुंगाको चुनावी नतिजा कुन पक्षमा जान्छ भन्ने चासो सर्वत्र बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds