काठमाडौँ । आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्का ‘ए’ सँग पराजित भएको छ । मङ्गलबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ६ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, आरिफ शेखले ४२ रन र कप्तान रोहित पौडेलले ३१ रनको योगदान दिए ।
१ सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ए’ ले १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । श्रीलङ्काको जितमा लाहिरु उडाराले सर्वाधिक ७३ रन बनाए । त्यस्तै, नुवानिदु फर्नान्डोले ३८ रन र सहान अराकिगेले अविजित ३३ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे ।
विश्वकपको तयारीका लागि वैदेशिक अभ्यासमा रहेको नेपाली टोलीले अब आफ्नो दोस्रो अभ्यास खेल आगामी बिहीबार खेल्ने तालिका रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।