दमक । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टी र क्रियाशील सदस्यता परित्याग गर्ने औपचारिक घोषणा गरेका छन्।
प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ताको दिन आज मिति २०८२ माघ ६ गतेदेखि कांग्रेसको नगर सभापतिको जिम्मेवारीसहित पार्टी सदस्यता त्यागेको उनले जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रसाईंले अब आफ्नो यात्रा पद, कुर्सी वा झण्डाको नभई परिवर्तनको भएको उल्लेख गरेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रसाईंले आफ्नो सामाजिक–राजनीतिक यात्रामा साथ दिने कांग्रेसका नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै परिवर्तन सम्भव रहेको र त्यसको सुरुवात आफ्नै पालाबाट हुनुपर्ने धारणा राखेका छन्। उनको यो घोषणाले झापा–५ को चुनावी राजनीति थप रोचक बनेको छ भने कांग्रेसभित्र समेत तरंग पैदा गरेको छ।
प्रसाई एमालेको राजनीति गर्दै कांग्रेसमा प्रवेश गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।