विराटनगर । नेपाली काँग्रेसले कोशी प्रदेशका १२ निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । पार्टीले हिमाली र पहाडी जिल्लाका उम्मेदवारको टुंगो पहिलो चरणमा लगाएको हो ।
काँग्रेसले धनकुटामा जिल्ला सभापति दिनेश राईलाई उम्मेदवार बनाएको छ भने तेह्रथुममा काँग्रेस जिल्ला सचिव सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ । सुब्बा २०७९ को निर्वाचनमा माओवादीसहितको समर्थनमा प्रदेशसभाको उम्मेदवार बन्दा एमालेका किशोरचन्द्र दुलालसँग पराजित भएका थिए ।
काँग्रेसले पाँचथरमा नरेन्द्र केरुङलाई उम्मेदवार बनाएको छ । उनै हालै सम्पन्न काँग्रेसको विषेश महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ताप्लेजुङमा काँग्रेसले गजेन्द्र तुम्याहाङलाई टिकट दिएको छ ।
काँग्रेले इलाम १ मा निष्कल राईलाई उम्मेदवार बनाएको छ । उनी कोशी प्रदेशमा शमशेर राई आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा उनका स्वकीय सचिव थिए । इलाम २ मा भने काँग्रेसले पुराना नेता भेषराज आचार्यलार्ई उम्मेदवार बनाएको छ ।
काँग्रेसले उदयपुरमा १ मा विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । उदयपुरको क्षेत्र नं. २ मा रामकुमार राईले टिकट पाएका छन् । २०७९ को निर्वाचनमा बागी उम्मेदवार बनेपछि उनलाई काँग्रेसले कार्वाही गरेकोमा भर्खरै मात्र कार्वाही फुकुवा भएको थियो ।
काँग्रेसले खोटाङमा वीरकाजी राईलाई उम्मेदवार बनाउँदा ओखलढुंगामा रामहरि खतिवडा उम्मेदवार बनेका छन् । खतिवडा निवर्तमान सांसद हुन् । काँग्रेसले सोलुखुम्बुमा प्रकाशजंग कार्कीलाई उम्मेदवार बनाउँदा मोरङ ३ मा सुनिल शर्माले टिकट पाएका छन् । शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
मोरङ ३ बाहेक झापा, मोरङ र सुनसरीका १४ क्षेत्रको उम्मेदवार काँग्रेसले टुंगो लगाउन बाँकी छ । संखुवासभा र भोजपुरको पनि उम्मेदवार टुंगो लाग्न बाँकी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।