लोड हुँदैछ...

मेनु

कोशीका दुई पालिका प्रमुख नेकपाबाट प्रतिनिधि सभामा उम्मेदवार

कोशीका दुई पालिका प्रमुख नेकपाबाट प्रतिनिधि सभामा उम्मेदवार

विराटनगर । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कोशी प्रदेशका दुई स्थानीय तहका प्रमुखलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार बनाउने भएको छ छ।

इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले प्रतिनिधि सभाको निर्वाचनका लागि टिकट पाएका हुन्।

दुवै नेताहरू स्थानीय तहमा सफल र लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिन्छन्। दुबै जना दोस्रो कार्यकालको लागि स्थानीय सरकार प्रमुख निर्वाचित भएका थिए ।

इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न लागेका रणबहादुर राई २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयर जितेर पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) तिर लागेका थिए। २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा उनले जित हासिल गरेका थिए।

राईले एमालेका काजिमान कागतेसँग प्रतिस्पर्धा गर्नेछन् भने काँग्रेस उम्मेदवारको टुंगो लागिसकेको छैन । रोचक कुरा के छ भने, यसअघिको मेयर निर्वाचनमा पनि राई र कागतेबीच नै प्रतिस्पर्धा भएको थियो। मेयरको चुनावी मैदानमा भिडेका यी दुई पुराना प्रतिद्वन्द्वी अहिले प्रतिनिधि सभाका लागि पुनः एकअर्काको आमनेसामने हुने भएका छन्।

त्यस्तै, सोलुखुम्बुबाट प्रतिनिधि सभाका लागि युवा नेता अशिम राईले टिकट पाएका छन्। थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष रहेका राई विकासप्रेमी र ऊर्जावान् युवा नेताका रूपमा परिचित छन्।

सोलुखुम्बुमा उनको प्रतिस्पर्धा नेकपा एमालेकी उम्मेदवार कल्पना राईसँग हुने भएको छ। दुवै प्रतिस्पर्धीहरू एकै पालिकाका बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds