लोड हुँदैछ...

मेनु

विराटनगरमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना हुँदै

विराटनगरमा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना हुँदै

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको समन्वयमा आगामी माघ ६ गते मंगलबारदेखि विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

विद्यालयस्तरदेखि नै नयाँ खेलाडी उत्पादन गर्ने र विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा महानगर क्षेत्रभित्र सञ्चालित २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ५ सय विद्यार्थीले सहभागिता जनाउने निश्चित भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारालाई प्राथमिकता दिँदै महानगरले उदीयमान युवा प्रतिभाहरूको पहिचान, प्रोत्साहन र सर्वाङ्गीण विकासका लागि यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

मेयर नागेश कोइरालाले यस प्रतियोगितालाई महानगरभित्रको एउटा ठूलो खेल उत्सवका रूपमा व्याख्या गर्दै यो पालिकास्तरबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्त्वपूर्ण प्लेटफर्म हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले महानगरले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अनुशासित र जिम्मेवार नागरिक निर्माणको माध्यमका रूपमा अघि बढाएको समेत बताउनुभयो । माघ ११ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १६ वर्ष उमेर पूरा नभएका विद्यार्थीहरूले मात्र भाग लिन पाउनेछन् । यसैगरी, महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले मेयर कप केवल खेलकुद कार्यक्रम मात्र नभई स्वस्थ जीवनशैली प्रवद्र्धन र सामाजिक समावेशिता सुदृढीकरण गर्ने दीर्घकालीन अभियान भएको उल्लेख गर्नुभयो ।

प्रतियोगितामा पुरस्कृत हुने टिमहरूका लागि आकर्षक नगद राशिको व्यवस्था गरिएको छ । आदर्श माविका प्राचार्य सन्तोष पोखरेलका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, सेमिफाइनलमा पुग्ने दुईवटा विद्यालयलाई तृतीय पुरस्कारस्वरूप जनही ३५–३५ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने यो प्रतियोगिता विराटनगरको शहीद रंगशाला र दिल्ली पब्लिक स्कुलको खेल मैदानमा आयोजना हुनेछ । सहभागी सबै विद्यालयलाई महानगरका तर्फबाट प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।