विराटनगर । नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी निर्वाचनमा कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये दुई तिहाइ सङ्ख्यामा एमालेले जित हासिल गर्ने दाबी गरेका छन्।
एमाले मोरङको पार्टी कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका राईले कोशी प्रदेशमा एमालेको संगठन निकै बलियो र व्यवस्थित भएकाले परिणाम आफ्नो पक्षमा आउनेमा कुनै सन्देह नरहेको बताए। उनले १८ महिनाभन्दा बढी समय कोशी प्रदेशमा खटिएर काम गरेको अनुभवका आधारमा यो आत्मविश्वास र दाबी प्रस्तुत गरेको स्पष्ट पारे।
विगतको २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेससहितको ‘महागठबन्धन’ विरुद्ध एक्लै लड्दा पनि एमालेले कोशीका २८ मध्ये १३ वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमा जित हासिल गरेको स्मरण गर्दै राईले अहिले परिस्थिति बदलिएको उल्लेख गरे।
अघिल्लो पटक घेराबन्दीका बीच ५० प्रतिशतको हाराहारीमा सिट जितेको एमालेले यसपटक कुनै पनि प्रकारको गठबन्धनलाई चिर्दै एकल तागतमा दुई तिहाइ सिट जितेर केन्द्रलाई परिणाम दिने उनको भनाइ छ। कोशीमा एमाले अहिले विगतको तुलनामा निकै सक्रिय, सङ्गठित र सबै हिसाबले परिचालित भएको उनले बताए।
राईले यस पटक पार्टीले उम्मेदवार छनोटमा निकै सावधानी र नयाँ रणनीति अपनाएको जानकारी दिए। ‘हामीले कुनै आग्रह वा पूर्वाग्रह नराखी जित्ने आधारलाई मात्र मुख्य केन्द्रबिन्दु बनाएका छौँ,’ उनले भने।
ओखलढुङ्गामा पूर्व वरिष्ठ नेताले उठ्न नचाहेपछि जिल्ला र प्रदेशको सुझाव अनुसार नयाँ अनुहारका रूपमा युवा महिला नेतृलाई अगाडि सारिएको उदाहरण दिँदै उनले १६५ वटै निर्वाचन क्षेत्रमा जनमत आफ्नो पक्षमा पार्न सक्ने व्यक्तित्वहरूलाई नै उम्मेदवार बनाइएको दाबी गरे। एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न विनिङ क्यान्डिडेटलाई नै प्राथमिकतामा राखिएको उनको तर्क छ।
प्रतिस्पर्धी दलहरूबारे टिप्पणी गर्दै राईले कोशी प्रदेशमा एमालेको तुलनामा अरू कुनै पनि दल बलियो प्रतिस्पर्धीका रूपमा नरहेको बताए। उनले समग्रतामा नेपाली कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरिए पनि कांग्रेस अहिले विभाजित अवस्थामा रहेको र अन्य नयाँ पार्टीहरू केवल ‘हल्ला र ट्रायल’ मा मात्र सीमित रहेको टिप्पणी गरे। काठमाडौँका मेयर बालेन शाहले झापा–५ मा लड्ने गरी सुरुमा मिडिया ट्रायल गरेको भए पनि एमालेको संगठन र केपी ओलीको जनमत बुझेपछि उनी डराएर पछाडि हटेको दाबी राईले गरे। रास्वपा लगायतका नयाँ दलहरूले गरिरहेको गतिविधिलाई पनि जनताले नजिकबाट नियालिरहेकाले निर्वाचनमा उनीहरूको वास्तविक हैसियत मतदाताले फैसला गर्ने उनले बताए।
अन्त्यमा, राईले एमालेलाई ‘अकबरी सुन’को संज्ञा दिँदै कतै जचाउन वा कसी लगाउनु नपर्ने बताए। देशको स्वाधीनता, संविधानको रक्षा र विकासका लागि एमाले निर्णायक तहमा पुग्नु अनिवार्य रहेको बताउँदै उनले हिंसा, तोडफोड र अराजकताको जिम्मा लिने शक्तिहरूलाई जनताले निर्वाचनको कठघरामा उभ्याउने विश्वास व्यक्त गरे। एमालेले यो निर्वाचनमार्फत मुलुकलाई सुरक्षित र समृद्ध बनाउने निर्णायक जनमत हासिल गर्ने उनको जिकिर छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।