विराटनगर । नेकपा एमालेको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै ओखलढुंगाका एमाले नेताहरुले आफूहरुलाई भीम रावल बनाउन खोजेको बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्ला कमिटीले सर्वसम्मत रूपमा सिफारिस गरेका नामहरूलाई हटाएर केन्द्रले आकांक्षी नै नभएका व्यक्तिलाई टिकट दिएको भन्दै जिल्ला नेतृत्वले आधिकारिक उम्मेदवारलाई नसघाउने र मनोनयन दर्तामै सहभागी नहुने घोषणा गरेको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का ‘जीबी’, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कटुवाल र जिल्ला सदस्यहरूको उपस्थितिमा केन्द्रको निर्णयप्रति कडा आपत्ति जनाए । अध्यक्ष ज्ञान बहादुर खड्का ‘जीबी’ ले पत्रकार सम्मेलनमा बोल्दै जिल्लाले लोकतान्त्रिक र विधिवत प्रक्रिया अपनाएको दाबी गरे । उनले भने, ‘हामीले जिल्ला कमिटीको विस्तारित बैठक बोलाएर व्यापक छलफल गर्यौँ । म पनि उठ्न चाहन्छु भन्ने साथीहरू १८ जना हुनुहुन्थ्यो । हलको ९५ प्रतिशत म्यान्डेट अम्बिर बाबु गुरुङको पक्षमा थियो । तैपनि सहमतिका लागि हामीले ५ जनाको नाम केन्द्रमा पठाएका थियौँ ।’
जिल्लाले सिफारिस गरेका ५ नामहरूमा ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञान बहादुर खड्का (जीबी) र नानीबाबु बुढाथोकी थिए । तर, केन्द्रीय सचिवालयले यी नामहरू बाहिरबाट अस्मिता थापालाई उम्मेदवार तोकेपछि विवाद चर्किएको हो ।
केन्द्रले उम्मेदवार तोकेकी अस्मिता थापा स्वयंले आफू चुनाव लड्न तयार नभएको बताएको अध्यक्ष खड्का बताउँछन् । ‘अस्मिता थापा स्वयं त्यो विस्तारित बैठकमा हुनुहुन्थ्यो । उहाँले हलमै भन्नुभएको थियो म उम्मेदवार होइन, मेरो उमेर पनि पुगेको छैन र म आकांक्षी पनि होइन,’ खड्काले भने, ‘तर, जिल्लामा नामै नआएको र स्वयम्ले उठ्दिनँ भनेको व्यक्तिलाई जब टिकट दिएर पठाइयो, यसले एमालेका आम कार्यकर्ता र मतदाताको शिर निहुराउने काम गरेको छ ।’
पार्टी केन्द्रले ओखलढुङ्गालाई सिध्याउन खोजेको उनीहरुले आरोप लगाए । उपाध्यक्ष कमलप्रसाद न्यौपाने र सचिव अशोक थापाले यसलाई प्रतिशोधको संज्ञा दिएका छन् । ‘पार्टीमा गुट चलाउने अग्रज नेताहरूकै कारण ओखलढुङ्गालाई माया मार्ने हिसाबले यो निर्णय गरिएको हो । ईश्वर पोखरेल ओखलढुङ्गाको भएकै कारण प्रतिशोध साध्नका लागि यसो गरिएको हुन सक्छ,’ उपाध्यक्ष न्यौपानेले भने, ‘यसअघि भीम रावललाई पनि यसै गरी एउटा सिफारिस भएर आयो, अर्कैलाई टिकट दिइयो । अहिले ओखलढुङ्गामा पनि अरु ५ जना नेतालाई भीम रावल बनाउन खोजियो ।’
जिल्ला सचिव अशोक थापाले केन्द्रको यो निर्णय नसच्चिए जिल्ला कमिटी मनोनयन दर्तामै सहभागी नहुने स्पष्ट पारे । उनले भने, ‘केन्द्रीय कमिटीले खराब नियतका साथ ओखलढुङ्गामा उम्मेदवार थोपरेको छ । यही उम्मेदवार बोकेर एमाले ओखलढुङ्गा मनोनयन दर्ता गर्न जाँदैन । यो निर्णय नसच्चिएसम्म जिल्ला कमिटीले यसलाई बोकेर हिँड्ने वाला छैन ।’
उपसचिव राजिव कटुवाल र अन्य सदस्यहरूले पनि खाए खा नखाए घिच भन्ने शैलीमा केन्द्रले उम्मेदवार लादेको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले कार्यकर्ता र मतदाताको मनोभावना विपरीत गएर चुनाव जित्न नसकिने र यस्तो अवस्थामा परिणामको जिम्मेवारी केन्द्रले नै लिनुपर्ने बताएका छन् ।
‘हामीले सिफारिस गरेका ५ जनामध्ये जसले टिकट पाएको भए पनि हामी एकमना एकताका साथ चुनावमा होमिन्थ्यौँ । तर अहिलेको निर्णयले हाम्रो ऊर्जा र उत्साह सकिएको छ,’ सचिव थापाले भने, ‘यही अवस्थामा चुनावमा होमिँदा एमालेको पक्षमा परिणाम आउन सक्दैन । कार्यकर्ता र मतदाताको म्यान्डेट नभएको व्यक्तिलाई भोट हाल्ने उत्साह हुँदैन ।’ उनीहरुले पार्टीभित्रका खराब प्रवृत्तिका विरुद्ध सधैँ लडिरहने पनि बताए ।
यसअघि जिल्ला अध्यक्ष खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा ‘केन्द्रीयताको नाममा व्यक्तिगत गुटका लागि गरिएको निर्णयप्रति असहमत प्रकट गर्दै सिफारिस विपरीत आएका उम्मेदवारलाई सहयोग गर्न नसकिने’ स्पष्ट पारेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।