विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा जारी विराटनगर क्रिकेट लिग अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा सिद्धार्थ स्पोटिङ क्लब र विराट क्रिकेट एकेडेमी विजयी भएका छन् ।
विराटनगरस्थित मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा सिद्धार्थ स्पोटिङ क्लबले डायनामिक क्रिकेट एकेडेमीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै २ अङ्क जोडेको छ । यो जितसँगै सिद्धार्थ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोही समूहमा २ खेल खेलेको कटहरी क्रिकेट एकेडेमी १ जित र १ हारसहित २ अङ्कका साथ दोस्रो स्थानमा छ भने डायनामिक पनि २ खेलमा १ जित र १ हारसहित २ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । १ खेल खेलेको लायन क्रिकेट एकेडेमी भने अङ्कविहीन रहँदै पुछारमा छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै १३७ रनको योगफल तयार पारेको थियो । सिद्धार्थका लागि अटल साहले ुरिटायर्ड हर्टु हुनुअघि ४४ रनको योगदान दिए । यस्तै फिर्दोस अन्सारीले ४० रन र रविन मण्डलले २९ रन बनाए । बलिङतर्फ डायनामिकका एस.एस. झाले ३ विकेट र विवेक झाले २ विकेट लिए ।
१३८ रनको लक्ष्य पछ्याएको डायनामिक १५ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमा समेटियो । डायनामिकका सुवास रोयले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । सिद्धार्थका फिर्दोस अन्सारीले ३ विकेट, दुर्गेश मल्लिकले २ विकेट तथा दिपेश कँडेल र निरज मुखियाले १–१ विकेट लिए । खेलको ुप्लेयर अफ द म्याचु सिद्धार्थका फिर्दोस अन्सारी घोषित भए ।
यसैगरी, समूह ‘ए’ अन्तर्गत भएको अर्को खेलमा विराट क्रिकेट एकेडेमीले इलाइट क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै २ अङ्क जोडेको छ ।
टस जितेर ब्याटिङ रोजेको विराटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । विराटका लागि विशाल ढकालले अविजित ६० रनको सानदार इनिङ खेले भने दीपक पासवानले १९ रन र लभ कामतले १५ रनको योगदान दिए । बलिङतर्फ इलाइटका सोनु सिंह, हरेराम सिंह र राजु विश्वकर्माले २–२ विकेट लिए ।
१४२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको इलाइट १८.२ ओभरमा ९० रनमै समेटियो । इलाइटका चतुरानन्द मेहता र सागर मल्लिकले समान १८–१८ रन बनाए । विराटलाई जित दिलाउन महबुब इराकी र श्रवण यादवले समान ३–३ विकेट लिए भने दीपक पासवानले २ विकेट हात पारे । खेलको ‘प्लेयर अफ द म्याच’ विशाल ढकाल घोषित भए ।
लिग अन्तर्गत सोमबारको पहिलो खेल सिद्धार्थ स्पोटिङ क्लब र कटहरी क्रिकेट एकेडेमीबीच हुनेछ भने दोस्रो खेल विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीबीच हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।