लोड हुँदैछ...

मेनु

कोशीमा निर्वाचन चर्चा

एमालेको उम्मेद्वारीबाटै आउट भएका १० चर्चित नेता

एमालेको उम्मेद्वारीबाटै आउट भएका १० चर्चित नेता

विराटनगर । नेकपा एमालेले आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि टिकट वितरण अन्तिम चरणमा पुर्याएको छ । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रको बाहेक २३ निर्वाचन क्षेत्रमा उम्मेद्वारको टुंगो लगाएको हो । तर, टुंगो लगाएको उम्मेद्वारको विषयमा असन्तुष्टि सार्वजनिक भइरहेको छ ।

एमालेको शनिबार बसेको सचिवालय बैठकमै उपमहासचिव योगेश भट्टराईले टिकट वितरणप्रति असहमति राखेको जनाइएको छ । त्यसो त भट्टराई आफूले निर्वाचन लड्ने गरेको ताप्लेजुङमा अहिले उम्मेद्वार नै फाइनल गरिएको छैन ।

भट्टराई मात्रै होइन कोशी प्रदेशमा यस पटक–पटक जितेका र चर्चामा रहेका शीर्ष नेताहरु नै रिङ आउट भएका छन् । एमाले अध्यक्ष ओलीका निकट पात्रले अपेक्षा गरेअनुसारको टिकट पाउँदा आलोचकहरुलाई र मझदारका कतिपय नेताको टिकट अर्कैलाई दिइएपछि असन्तुष्टि चुलिएको हो ।

ओली निकट रहेको एमाले सचिव भानुभक्त ढकाल मोरङ ३ छाडेर तेह्रथुम पुगेका छन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फको सूचीमा राखिएका किशोरचन्द्र दुलालको नाममा टिपेक्स लगाएर संविधानसभा छिरेका ढकाल २०७४ सालको निर्वाचनमा भने मोरङ झरेका थिए । त्यसबेला मोरङ ३ का स्थानीय नेता, कार्यकर्ताको असन्तुष्टिकाबीच निर्वाचन जितेका ढकालले २०७९ सालको निर्वाचनमा भने लज्जास्पद पराजय व्यहोरेका थिए । निर्वाचनमा उनको पराजय भएपनि अध्यक्ष ओलीको आशिर्वाद पाइरहेका उनले यस पटक तेह्रथुम रोजेका हुन् ।

उता, सुनसरी ३ बाट कष्टका साथ काँग्रेस नेता विजयकुमार गच्छदारलाई पराजित गरेर २०७९ सालमा प्रतिनिधिसभा प्रवेश गरेकी एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई क्षेत्र नम्बर ४ मा पठाइएको छ । क्षेत्र नम्बर ४ बाट एकल सिफारिस भएका जगदिश कुसियैतलाई २ वा ३ मा पठाउने ओलीको तयारी छ । उक्त छनौटप्रति सिधै असन्तुष्टि नराखेपछि चौधरीले सामाजिक सञ्जालमा क्षेत्र नम्बर ३ का जनतालाई धन्यवाद दिएकी छिन् । ‘तपाईको मतको ईज्जत राखेर प्रभावकारी भूमिका निर्वाह गर्ने तपाईको विश्वासमा खरो उत्रिनेछु भनि प्रतिबद्धताका साथ सुनसरी ३ का जनतासँग तपाईंको अमूल्य मत सूर्यमा माग्न चाहन्छु…,’ उनले भनिन् ।

उता, एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष ओलीको विपक्षी प्यानलबाट सचिव पदमा चुनाव लडेका अग्नि खरेललाई झापा २ बाट टिकट दिइएन । २०७९ सालको निर्वाचनमा २ नम्बर क्षेत्रबाट चुनाव लड्ने इच्छा राख्दा राख्दै ओलीले खरेललाई क्षेत्र नम्बर १ मा काँग्रेसका नेता विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धामा उतारेका थिए भने २ मा देवराज घिमिरेलाई उम्मेद्वार बनाएका थिए । यस पटक पनि खरेललाई नदिएर उनै घिमिरेलाई २ नम्बरबाट चुनावको टिकट दिएका छन् । यस्तै झापा ४ बाट लामो समयसम्म निर्वाचन लडेर विजयी हुँदै आएका लाल प्रसाद सावा (एलपी सावा)लाई अध्यक्ष ओलीले टिकट नदिएर मनोज ताम्लीलाई दिएका छन् ।

झापाका नेताहरुका अनुसार साँवा झापा क्षेत्र नम्बर ४ मा लोकप्रिय थिए । गएको नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा ओलीको निर्वाचन क्षेत्र झापाबाट मात्रै १४ जना नेतालाई केन्द्रीय कमिटीमा तानियो । वडाको निर्वाचन पनि नजितेका नेताहरुलाई केन्द्रीय कमिटीमा तान्दै गर्दा दुई–दुई पटक जितेका साँवालाई केही दिइएन । अहिले टिकटै खोसिएपछि उनका समर्थकहरु निराश बनेका छन् ।

उता, ओलीले आफू झापा–५ बाट उठ्ने पक्का भएपछि आफ्नो जित सुरक्षित गर्न उनले झापा ३ मा उम्मेद्वार नै उठाएका छैनन् । एमाले स्रोतका अनुसार सो क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर झापा ५ मा आफू सहयोग लिने रणनीतिमा छन् ।

उता, एमालेले मोरङ १ मा ४८ सालयता निरन्तर चुनाव लड्दै आएका घनश्याम खतिवडालाई टिकट दिँदा २ मा भने रंगेलीका मेयर दिलिप बगडियालाई उम्मेद्वार बनाउने भएको छ । २ नम्बरमा पनि एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभाका लेखा समितिका पूर्वसभापति ऋषिकेश पोखरेल खाली हात भएका छन् । मोरङ ६ बाट निर्वाचन लड्ने तयारी गरिरहेका एमालेका नेता विनोद ढकाल, लालबाबु पण्डितलाई यस पटक टिकटबाट बञ्चित गर्न सक्ने देखिएको छ । सो क्षेत्रमा हालसम्म एमालेले उम्मेद्वार फाइनल गरेको छैन ।

यस्तै इलामको १ बाट निरन्तर निर्वाचनमा विजयी हुँदै आएका महेश बस्नेतलाई ओलीले ब्याक गराएका छन् । सो ठाउँमा गएको स्थानीय निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयर पदमा पराजित बनेका काजिमान कागतेलाई एमालेले उम्मेद्वार बनाएको छ । बस्नेत ओलीको आलोचक थिए ।

यस्तै संखुवासभामा एमालेका नेता राजेन्द्र गौतम र तुलसीप्रसाद न्यौपानेको दाबी थियो । दुवैको नाम कटाएर अध्यक्ष ओलीले डाक्टर अर्जुन कार्कीलाई उम्मेद्वार बनाएका छन् । उता, खोटाङमा निरन्तर चुनाव लड्दै आएका विशाल भट्टराईलाई यस पटक ब्याक गरिएको छ । उनको स्थानमा देवविक्रम राईलाई उम्मेदवार बनाइएको छ । सोलुखुम्बुमा पूर्व रक्षामन्त्री समेत रहेका मानवीर राईको ठाउँमा कल्पना राई उम्मेद्वार बनेकी छिन् ।

उता सुनसरीमा क्षेत्र नम्बर १ बाट सूर्य पन्दाक पक्का हुँदा ओली निकट भनेर चिनिएकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको टिकट खोसिएको छ । भोजपुरबाट एमाले सचिवसमेत रहेका नेता शेरधन राई र धनकुटाबाट प्रभावशाली नेता राजेन्द्र राई नै उम्मेद्वार बन्ने भएका छन् । उदयपुर जिल्लामा दुर्गा थापा स्वोती र अमर रायमाझीले टिकट पाउने भएका छन् । उनीहरु नयाँ अनुहार हुन् । ओखलढुंगाका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ पनि टिकटबाट वञ्चित भएका छन् । एमालेले ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds