विराटनगर । ‘क्यान्सर’ भन्ने बित्तिकै धेरैको मानसपटलमा मृत्युको छायाँ र डर पैदा हुन्छ । उपचार सम्भव हुँदाहुँदै पनि मानसिक रूपमा हार मान्ने प्रवृत्तिलाई चिर्न मोरङको टंकिसिनवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल (विराट क्यान्सर इन्स्टिच्युट) ले एउटा नौलो र मानवीय अभियान सुरु गरेको छ । अस्पतालले क्यान्सर जितेर सामान्य जीवनमा फर्किएका बिरामीका तस्बिर र उनीहरूको संघर्षको कथालाई विभागको भित्तामा सजाएर नयाँ बिरामीहरूमा ऊर्जा भर्ने काम गरिरहेको छ ।
‘क्यान्सर जित्ने आशाहरू’: भित्तामा देखिने जिउँदो प्रेरणा
अस्पतालको क्यान्सर विभाग छिर्ने जो कोहीले पनि भित्तामा ‘क्यान्सर जित्ने आशाहरू’ शीर्षकमा सजाइएका तस्बिर र छोटा आत्मकथाहरू देख्न सक्छन् । यी तस्बिरहरू केवल सजावट मात्र होइनन्, उपचारका लागि आएका नयाँ बिरामी र उनीहरूका आफन्तका लागि ‘क्यान्सर हार्न सक्छ’ भन्ने बलियो प्रमाण हुन् ।
रिपोर्ट हातमा पर्दा ‘अब बाँचिँदैन’ भनेर निराश हुनेहरू यी सफलताका कथा पढेपछि आत्मविश्वासका साथ उपचारमा लाग्ने गरेको अस्पतालले जनाएको छ ।
बिरामीको अनुभव: ‘परिवारको हौसला र हिम्मत नै ओखती’
अस्पतालमा आफ्नो फोटो टाँसिएको देख्दा मोरङ केरावारीका टेकबहादुर राई भन्छन्, “रोगको शारीरिक उपचारभन्दा कठिन पक्ष बिरामीको मानसिक अवस्था रहेछ । समयमै नियमित उपचार र हिम्मत राखे क्यान्सरलाई जित्न सकिन्छ ।”
त्यस्तै, सुनसरी इटहरीकी लख्खीदेवी साहले आफ्नो अनुभव सुनाउँदै भनिन्, “डाक्टरले क्यान्सर भएको भन्दा म बोल्नै सकिनँ । तर आज यहाँ निको भएर आफ्नो फोटो टाँसिएको देख्दा मरेर फेरि जन्मिएझैँ लागेको छ ।”
उपचारमा ‘लाइभ मोटिभेसन’ को भूमिका
क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीका अनुसार क्यान्सरको उपचार लामो प्रक्रिया हो, जहाँ बिरामीको आत्मबलले ठूलो भूमिका खेल्छ । “बिरामीले आशा गुमाए भने उपचार प्रभावकारी हुँदैन,” डा. रायमाझी भन्छिन्, “त्यसैले हामीले निको भएका बिरामीका कथालाई ‘लाइभ मोटिभेसन’ का रूपमा प्रयोग गरेका हौँ । यसले बिरामी र परिवार दुवैको मानसिक तनाव कम गर्न सहयोग पुगेको छ ।”
अस्पतालका अन्को काउन्सेलर कमल पौडेल पनि निको भएका मानिसहरूलाई देख्दा नयाँ बिरामीले आफ्नो भविष्य देख्ने र उपचारमा सकारात्मक प्रतिक्रिया दिने बताउँछन् । उनका अनुसार यो अभियानले क्यान्सर लुकाउनुपर्ने रोग होइन, बरु लड्नुपर्ने रोग हो भन्ने सन्देश समाजमा फैलाएको छ ।
दुई वर्षमा ५ हजारभन्दा बढीको उपचार: भारत जानुपर्ने बाध्यता अन्त्य
विराट मेडिकल कलेजले २०८० सालदेखि औपचारिक रूपमा क्यान्सर उपचार सेवा सुरु गरेको हो । अस्पतालले हाल शल्यक्रिया, किमोथेरापी, रेडिएसन, हार्मोन, टार्गेट थेरापी, पेलिएटिभ केयर र बालबालिकामा हुने क्यान्सर सहित सबै प्रकारका क्यान्सरको अत्याधुनिक उपचार प्रदान गर्दै आएको छ ।
विगत दुई वर्षको अवधिमा ५ हजारभन्दा बढी बिरामीले यहाँबाट सेवा लिइसकेका छन् । भरपर्दो र आधुनिक सेवा उपलब्ध भएपछि विशेषगरी प्रदेश १ का बिरामीहरूलाई भारतको दिल्ली लगायतका महँगा अस्पताल धाउनुपर्ने बाध्यता समेत अन्त्य भएको छ ।
भविष्यको योजना: डिजिटल अभिलेख र जनचेतना
अस्पताल प्रशासनका अनुसार क्यान्सर जित्नेहरूका यी प्रेरक कथाहरूलाई आगामी दिनमा डिजिटल अभिलेखका रूपमा सुरक्षित राख्ने र जनचेतना सामग्रीमार्फत समुदायसम्म पुर्याउने योजना छ । अस्पतालको भित्तामा टाँसिएका ती तस्बिरहरूले समयमै उपचार, सही परामर्श र दह्रो आत्मबल भए क्यान्सरमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।