काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशलाई अब अल्पकालीन निर्णय नभई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
भूकम्प सुरक्षा दिवसको अवसर पारेर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले आफू राजनीतिमा सक्रिय हुनुको मूल उद्देश्य नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको स्पष्ट पारेका छन् ।
शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि आफूले सिभिल इन्जिनियरका रूपमा देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको स्मरण गरेका छन् । ूकाभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो । नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,ू उनले लेखेका छन्, ूयही बुझाइका साथ म भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरी स्वदेश फर्किएँ ।ू उनले सुविधा सम्पन्न देशमा बस्ने अवसर त्यागेर देश निर्माणको संकल्पसहित नेपाल फर्किएको उल्लेख गरेका छन् ।
काठमाडौँ महानगरपालिकामा आफूले सम्हालेको जिम्मेवारी र त्यहाँ भएका सुधारका कामहरूबारे चर्चा गर्दै शाहले अब स्थानीय तहको यो सफल अभ्यासलाई देशभर लैजानुपर्नेमा जोड दिएका छन् । ‘हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ । स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिएको छ,’ उनले भनेका छन्, ‘महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ ।’
प्रमुख शाहले विकास भनेको केवल सडक र भवन मात्र नभई सुरक्षित संरचना र आम जनताको आशालाई जीवित राख्ने वातावरण भएको बताएका छन् । लोकप्रिय नाराभन्दा पनि संकट आउनुअघि नै तयारी गर्ने नीति र विपद् सहन सक्ने संरचना निर्माण गर्ने इमानदार नेतृत्व अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
उनले यो अभियान कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित भविष्य चाहने सम्पूर्ण नेपालीको साझा अभियान भएको बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् । ‘हामीले हाम्रो पुस्ताका लागि मात्र होइन, भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्नुपर्छ,’शाहले उल्लेख गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।