लोड हुँदैछ...

मेनु

देशभर हर्षोल्लासका साथ माघे सङ्क्रान्ति मनाइँदै: पवित्र नदीहरूमा स्नान र घ्यू–चाकु खाएर पर्व मनाइयो

देशभर हर्षोल्लासका साथ माघे सङ्क्रान्ति मनाइँदै: पवित्र नदीहरूमा स्नान र घ्यू–चाकु खाएर पर्व मनाइयो

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते आज देशभर माघे (मकर) सङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ । ज्योतिषीय गणनाअनुसार आजैदेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
उत्तरायण सुरु हुने दिन गरिने स्नान, जप, तप, ध्यान र दानलाई अत्यन्तै पुण्यदायक मानिने धार्मिक मान्यता छ । यसै अवसरमा आज बिहानैदेखि चितवनको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, नुवाकोटको देवीघाट, काठमाडौँको वाग्मती र इन्द्रावतीको दोभान लगायतका विभिन्न तीर्थस्थलमा भक्तजनको ठूलो भीड लागेको छ । तराई क्षेत्रमा यस दिनलाई ‘नहान’ अर्थात् नुहाउने विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार आजको दिन तिल दान गर्नाले सुन दान गरे सरहको फल प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा उल्लेख भएअनुसार माघ १ गते जलाशयमा गई स्नान नगर्ने र घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने व्यक्ति जीवनभर रोगी हुन सक्ने शास्त्रीय मान्यता रहेको छ ।

यस पर्वमा घ्यू, चाकु, तिलका परिकार, तरुल, सखरखण्ड, पालुङ्गो र खिचडी खाने प्रचलन छ । चिसो मौसममा शरीरलाई न्यानो राख्न र ‘त्रिदोष’ नाश गर्न यी तातो परिकारले सहयोग गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ । विभिन्न स्थानमा पुसको अन्तिम दिन पकाएको तरुल माघमा खाने चलन छ, जसलाई जनबोलीमा ‘पुसमा पाके, माघमा जाके’ भन्ने गरिन्छ । त्यस्तै, आजको दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने र स्नायु प्रणाली सुदृढ हुने विश्वास गरिन्छ ।

पौराणिक मान्यताअनुसार महाभारत युद्धमा मृत्युशैयामा पुगेका भीष्म पितामहले इच्छा मृत्युको वरदान पाएका कारण सूर्य उत्तरायण भएपछि मात्र आफ्नो शरीर त्यागेका थिए । यसैले सूर्य उत्तरायण भएको समयमा हुने मृत्युलाई उत्तम मानिन्छ । यस्तै, भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि आज विशेष मेला लागेको छ ।
यसै समयमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रतकथा र माघ स्नानको पनि विशेष महत्त्व रहँदै आएको छ । भक्तजनहरू माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्दछन् ।

माघे सङ्क्रान्तिको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ समेत मनाउँदैछ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूलको सेवन गरिने भएकाले सोको संरक्षण र प्रवर्द्धनका लागि गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।
पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।