लोड हुँदैछ...

मेनु

कांग्रेस एकढिक्का बनाउन पुराना नेता गोपालराज भण्डारीको आग्रह

कांग्रेस एकढिक्का बनाउन पुराना नेता गोपालराज भण्डारीको आग्रह

विराटनगर । नेपाली कांग्रेसको आन्तरिक जीवनमा देखिएको विवाद र विभाजनको खतराप्रति पार्टीका पुराना पुस्ताका नेताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। विराटनगर निवासी कांग्रेसका पुराना तथा वयोवृद्ध नेता गोपालराज भण्डारीले पार्टी नेतृत्वलाई व्यक्तिगत हठ त्यागेर एकताका लागि उभिन आग्रह गरेका छन्।

कुराकानीमा बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै काम गरेका नेता भण्डारीले अहिलेको नेतृत्वले विगतका नेताहरूको त्याग र बलिदानको इतिहासलाई बिर्सन नहुने बताए। वि.सं. २०११ सालमा जन्मिएका र कांग्रेसका संस्थापक नेताहरूसँगै लामो राजनीतिक यात्रा गरेका भण्डारीले पार्टी फुट्दा देशको लोकतन्त्र नै धरापमा पर्ने चेतावनी दिएका छन्।

प्रस्तुत छ, कांग्रेसको वर्तमान संकट र समाधानका उपायबारे नेता गोपालराज भण्डारीले व्यक्त गरेको विचारको सम्पादित अंशः

दुवै पक्षले हठ छोडेर एक ठाउँमा उभिनुपर्छ

अहिले विशेष अधिवेशन र नियमित अधिवेशनको बीचको लडाइँ बनाएर जसरी पार्टीलाई धरापमा पार्दैछन्, यो हुन हुँदैन। त्यसकारण दुवै (संस्थापन र इतर) पक्षले हठ छोडेर एक ठाउँमा उभिनुपर्छ। पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो।

यसको निष्कर्ष निकाल्दा दुवै पक्ष अलिअलि ब्याक (पछाडि) त हुनैपर्यो। नयाँ कार्यसमिति निर्माण गरेर दुइटा पार्टी बनाउने आदि इत्यादि भन्दा नीतिगत रुपमा कतिपय निर्णयहरु गरेर अगाडि बढ्नुपर्छ। अहिले हामीले सबै पक्षले एक ठाउँमा गएर उभिनुपर्यो, आत्मसात गर्नुपर्यो, आफ्ना कमी कमजोरीलाई सबैले महसुस गर्नुपर्यो।

विगतका दिनमा पार्टी संकटको संघारमा पुगेका बेलामा नेताहरुले जुन सुझबुझ देखाए, त्यो अहिले पनि आवश्यक छ। त्यसबेलाको नेताहरुको जुन स्वविवेक हो, अहिलेका नेताहरुले पनि आफूलाई सकेर पनि, विषको घुट पिएर पनि जे गर्नुपर्ने हो, अहिलेको नेताहरुले त्यो गर्नुपर्छ।

विगतमा किसुनजी, गिरिजाबाबु वा गणेशमानजीले खेलेको भूमिका जस्तै त्याग, तपस्या र बलिदानका जुन कुरा छ नि, जुन किसिमको भूमिका उहाँहरुले खेल्नुभयो, त्यो भूमिका निर्वाह गर्ने क्रममा अहिलेका नेतृत्व तहमा बस्नेले ुजान्छुु भन्नेले वा भइराखेकोले पनि त्यो भूमिका खेल्नुपर्यो नि त ! म छोड्दै छोड्दिन भन्ने जे कुरा पनि यता कार्यवाहक दिएको देखिन्छ, अनि फेरि कार्यवाहक दिइसकेपछि अलिकति एक्टिभिटिज आफूले बढी गरेको देखिन्छ। एउटा गार्जियनसिपको रुपमा दिएर जानुपर्ने हो, तपाइँहरुले त्यो सकिराख्नु भएको छैन कि जस्तो भइराखेको देखिन्छ।

जहिले पनि ठूला वृक्ष ढल्दाखेरि साना–तिना झ्याङ–झुङ आदि इत्यादिलाई पनि असर गर्छ नि त। त्यसकारण कांग्रेस एउटा नेपालको परिप्रेक्ष्यमा भन्दा ठूलो पार्टी त छँदैछ। नम्बर एक, यो पार्टी (कांग्रेस) कमजोर हुँदा प्रजातन्त्रलाई, लोकतन्त्रलाई, राष्ट्रलाई सबैलाई आघात पुग्छ। यसले यो लथालिंग भयो भने लोकतन्त्र नै अलि कमजोर भएर जान्छ।

अहिले जुन अराजकता देखा पर्दै गएको छ, खास गरेर नेपाली कांग्रेसलाई फुटाउने प्रयासहरु पनि विभिन्न कोणबाट भइराखेको छ यहाँको लोकतन्त्र मास्नको लागि। त्यसैको श्रृंखला मध्ये यो (विवाद) हो। जुन तोडफोड आदि इत्यादि जुन किसिमबाट आयो, जेन–जीको एउटा आन्दोलन भनेको एउटा हो। तर जेन–जी आन्दोलन पछि जुन घटना घट्यो, तोडफोड र आगजनी, जुन शक्तिहरुले त्यो गरेका छन्, तिनै शक्तिहरु पार्टी कांग्रेसलाई फोड्न पनि अगाडि बढेको जस्तो लाग्छ मलाई।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds