लोड हुँदैछ...

मेनु

अहंकार त्यागेर पार्टी बचाउन नेतृत्वलाई आग्रह

अहंकार त्यागेर पार्टी बचाउन नेतृत्वलाई आग्रह

विराटनगर । नेपाली काँग्रेस पुनः विभाजनको डिलमा पुगेको छ । काठमाडौँको भृकुटी मण्डपमा आयोजित ‘विशेष महाधिवेशन’ र त्यसले अगाडि बढाएको नयाँ नेतृत्व चयनको प्रक्रियाले पार्टीलाई औपचारिक फुटको संघारमा पु¥याएको हो ।

संस्थापन पक्षले यस महाधिवेशनलाई अवैधानिक भनिरहेका बेला इतर समूहले भने नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेर अगाडि बढिसकेको छ । काँग्रेसभित्र चुलिएको यो चरम विवाद र विभाजनको खतरालाई लिएर विराटनगरकी पुराना एवं निष्ठावान् नेतृ मृदुला कोइरालाले गम्भीर चिन्ता र कडा आक्रोश व्यक्त गरेकी छिन् । कोइराला परिवारको विरासत र काँग्रेसको लामो इतिहासलाई नजिकबाट हेरेकी उनले वर्तमान नेतृत्वलाई पार्टी विभाजन रोक्न आग्रह गरेकी छिन् ।

नेतृ कोइरालाले पार्टीलाई फुटबाट जोगाउन नेतृत्व वर्ग अत्यन्तै गम्भीर हुनुपर्ने बेला आएको बताइन् । उनले अहिलेको अवस्था आउनुमा नेतृत्वको अहंकारी प्रवृत्ति मुख्य जिम्मेवार रहेको औंल्याइन् । ‘यो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनु हुँदैन । नेतृत्व वर्ग जो अहिले पदमा हुनुहुन्छ, उहाँहरू गम्भीर हुने बेला आएको छ । तर दुःखको कुरा, अहिले नेतृत्वमा मेरो गोरुको बाह्रै टक्का भन्ने अहंकार देखिएको छ, जुन पार्टीका लागि घातक छ,’ उनले भनिन् ।

बीपी कोइरालाले ठूलो दुःख, कष्ट र संघर्ष गरेर स्थापना गरेको पार्टीलाई अहिले यो विन्दुमा पु¥याउनुमा वर्तमान नेताहरुकै दोष रहेको उनको स्पष्ट ठहर छ । उनले नेतृत्वले आफ्नो गल्ती महसुस गर्नुपर्ने र यदि नेताहरूले इमानदार भएर माफी मागेमा जनता र कार्यकर्ताले पनि माफी दिने विश्वास व्यक्त गरिन् ।

यतिबेला भृकुटी मण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि द्रुत गतिमा काम अगाडि बढाएको छ । विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिका संयोजक सीताराम के.सी. ले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार नयाँ नेतृत्व चयनका लागि मतदानको प्रक्रिया आजै रातिबाट सुरु हुँदैछ ।

सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता पुस २९ गते दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो भने उम्मेदवारको पहिलो नामावली साँझ साढे ४ बजे प्रकाशन गर्ने तयारी गरिएको छ ।

यस्तै, उम्मेदवारीमाथि दावी विरोध र छानविनका लागि साँझ साढे ५ बजेसम्मको समय दिइएको छ भने उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन राति पौने ९ बजेसम्म गर्ने कार्यतालिका बनाइएको छ । निर्वाचन समितिले मतदानका लागि राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्मको समय निर्धारण गरेको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने र निर्वाचन परिणाम घोषणा गरिने उल्लेख गरिएको छ । यो निर्वाचन प्रक्रियाले काँग्रेसभित्रको दुई धारलाई झन् प्रष्टसँग छुट्याइदिएको छ ।

नेतृ कोइरालाले काँग्रेसको यो अवस्था देख्दा आफूलाई अत्यन्तै पीडा भएको बताउँदै विगतका त्याग र आदर्शको स्मरण गरिन् । उनले काँग्रेस त्यागले बनेको पार्टी भएको तर अहिले स्वार्थको अखडा बनेको आरोप लगाइन् । उनले गणेशमान सिंहले कहिल्यै पदको लोभ नगरेको र सधैँ त्यागको राजनीति गरेको उदाहरण दिँदै अहिलेका नेताहरूलाई त्यसबाट सिक्न आग्रह गरिन् । उनले कृष्णप्रसाद भट्टराई किशुनजीको सादगीपन सम्झँदै भनिन्, ‘किशुनजी जस्तो नेता जो बालुवाटारबाट निस्किँदा एउटा सुराही र एउटा लौरो मात्र लिएर निस्किनुभयो, उहाँको त्यो इतिहास अहिलेका नेताहरूले बिर्सिएका छन् ।’

त्यस्तै, गिरिजाप्रसाद कोइरालाले सधैँ पार्टी एकता, सहमति र सहकार्यको कुरा गरेको र सुशील कोइरालाले जोखिम मोलेर संविधान दिएर मुलुकलाई बचाएको सन्दर्भ पनि उनले स्मरण गर्न सबैलाई आग्रह गरिन् । सुशील कोइराला बालुवाटारबाट निस्किँदा उहाँको आफ्नो भन्ने एउटा घर समेत नभएको स्मरण गर्दै उनले अहिलेका नेताहरू पद र पैसाको पछि दौडिएकोमा आलोचना गरिन् ।

‘अहिलेका नेताहरू अत्यन्तै स्वार्थी भए, परिवारवादमा फसे र आफ्ना आसेपासेलाई मात्र प्रोत्साहन गर्न थाले । यही प्रवृत्तिले गर्दा पार्टीमा विद्रोह भएको हो,’ उनले भनिन् । पैसा लिएर टिकट बेच्ने, वर्षौँदेखि पार्टीका लागि रगत पसिना बगाएका इमानदार कार्यकर्ताको मूल्याङ्कन नगर्ने र सधैँ पद ओगटेर बस्ने प्रवृत्तिका कारण कार्यकर्तामा चरम आक्रोश पैदा भएको उनको विश्लेषण छ । पद छोड्न नचाहने नेतृत्वको ढिपीले गर्दा नै आज काँग्रेस विभाजनको यो संघारमा आइपुगेको उनले दाबी गरिन् ।

यो संकटको समाधानका लागि कोइरालाले दुवै पक्षलाई लचिलो हुन र सहमतिको विन्दु खोज्न आग्रह गरेकी छिन् । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष दुवैले आफ्नो अडान छोडेर विन–विन सिचुएसन मा नगए काँग्रेसको भविष्य अन्धकार हुने उनको चेतावनी छ । उनले भनिन्, ‘मुलुकको सबभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नै सिद्धियो भने यो मुलुकको प्रजातन्त्रको के होला ? यो एउटा कार्यकर्ताको मात्र होइन, हरेक नागरिकले सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने विषय हो ।’

प्रजातन्त्रका लागि यत्रो लडाइँ लडेको पार्टी नै समाप्त हुने अवस्था आउनु दुःखद भएको भन्दै उनले सबैतिरबाट नेताहरूलाई दबाब दिएर पार्टी बचाउन आव्हान गरिन् । महाधिवेशन शक्तिशाली ठाउँ भएको र यसले म्यान्डेट प्राप्त गरेको उल्लेख गर्दै उनले बेलैमा बुद्धि पु¥याएर सहमति नगरे स्थिति निकै गम्भीर हुने संकेत गरिन् । उनले काँग्रेसलाई बचाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको र यसका लागि सबै पक्षले व्यक्तिगत र समूहगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds