लोड हुँदैछ...

मेनु

कांग्रेस विशेष महाधिवेशन सभापतिका लागि ३ सहित ३० जनाले लिए फाराम, रोक्न संस्थापन पक्षको कसरत

कांग्रेस विशेष महाधिवेशन सभापतिका लागि ३ सहित ३० जनाले लिए फाराम, रोक्न संस्थापन पक्षको कसरत

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ । विशेष महाधिवेशन निर्वाचन समितिका अनुसार सोमबार दिउँसो ३:२५ बजेसम्म विभिन्न पदका लागि ३० वटा फाराम वितरण भइसकेका छन् ।

वितरण गरिएका ३० फाराममध्ये ३ वटा सभापति पदका उम्मेदवारका लागि रहेको निर्वाचन समितिले जनाएको छ । हाल फाराम वितरणको कार्य जारी रहेको र उम्मेदवारी दर्ता (फाराम बुझ्ने) काम भने साँझ ५ बजेपछि मात्र सुरु हुने बताइएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे पनि सभापति शेरबहादुर देउवासहितको संस्थापन समूहले त्यसलाई बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । संस्थापन पक्षको असहमति र बहिष्कारका बीच विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रियालाई अघि बढाएका हुन् ।

विशेष महाधिवेशन पक्षले निर्वाचनको प्रक्रिया नै सुरु गरेपछि संस्थापन समूहले यसलाई रोक्ने प्रयास थालेको छ । प्रक्रिया रोक्ने विषयमा छलफल गर्न सभापति देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरूबीच वार्ता भइरहेको छ ।

यता, पार्टी केन्द्रीय कार्यालय सानेपामा भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय समितिको बैठक जारी छ । विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया र केन्द्रीय समिति बैठक समानान्तर रूपमा अघि बढ्दा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds