लोड हुँदैछ...

मेनु

कांग्रेस विशेष महाधिवेशन राष्ट्रपतिदेखि सभापतिसम्म मतदाता, आजै राति ९ बजेबाट मतदान

कांग्रेस विशेष महाधिवेशन राष्ट्रपतिदेखि सभापतिसम्म मतदाता, आजै राति ९ बजेबाट मतदान

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको रस्साकस्सीका बीच विशेष महाधिवेशनको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार विशेष महाधिवेशनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै चुनावी सरगर्मी उत्कर्षमा पुगेको हो । प्रकाशित नामावलीमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मको नाम समावेश गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका प्रमुख सीताराम केसीका अनुसार चौधौँ महाधिवेशनका बेला कायम रहेका महाधिवेशन प्रतिनिधिहरूलाई नै यस विशेष महाधिवेशनमा मतदाताको रूपमा मान्यता दिइएको छ । चौधौँ महाधिवेशनमा कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । तीमध्ये हालसम्म मृत्यु भएका, पार्टी परित्याग गरेका वा अनुशासनको कारबाहीमा परेका १०५ जनाको नाम सूचीबाट हटाइएको छ ।

निर्वाचन समितिले बाँकी रहेका ४ हजार ६३८ जनाको नामावलीलाई अन्तिम मतदाता नामावलीको रूपमा प्रकाशन गरेको हो । ‘हामीले अघिल्लो महाधिवेशनकै वैधानिक नामावलीलाई आधार मानेका छौँ, जसमा १०५ जनाको नाम घटेको छ,निर्वाचन समिति प्रमुख केसीले जानकारी दिए ।

विशेष महाधिवेशनको सबैभन्दा रोचक पक्ष यसको कार्यतालिका रहेको छ । निर्वाचन समितिले प्रकाशन गरेको तालिका अनुसार आजै राति ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मनोनयन दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया दिउँसो सम्पन्न गरी रातिबाटै मतदान सुरु गर्ने तयारी गरिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु गरिने र यथाशीघ्र मतपरिणाम घोषणा गर्ने समितिको लक्ष्य छ ।

यद्यपि, यो विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र तीव्र मतभेद देखिएको छ । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा समूहले यो महाधिवेशनलाई स्वीकार गरेको छैन । देउवा पक्षले यसलाई ‘अवैधानिक’ भन्दै बहिष्कार गर्ने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds