लोड हुँदैछ...

मेनु

काँग्रेस विषेश महाधिवेशनको निर्वाचन तालिका तयार : ३ बजेसम्म उम्मेदवारी दर्ता

काँग्रेस विषेश महाधिवेशनको निर्वाचन तालिका तयार : ३ बजेसम्म उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका तयार गरेको छ ।

निर्वाचन कार्यतालिका तयार पारेर मतदाता नामावली सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

मृतक र पार्टी छाडेबाहेकका सबै महाधिवेशन प्रतिनिधिको नाम मतदाता नामावलीमा समेटेर सार्वजनिक गरिनेछ । निर्वाचन तालिकामा साढे १ देखि साढे ३ सम्म उम्मेदवारी दर्ता र बेलुका ९ बजे मतदानको समय राखिएको छ ।

बन्दसत्रमा समूहगत छलफल जारी नै रहेकाले बन्दसत्रको सेड्युलसँग मिलाएर कार्यतालिका सार्वजनिक गरिनेछ । विशेष महाधिवेशनले खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भंग गर्दै डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा नयाँ समिति बनाइसकेको छ ।

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ । संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

कांग्रेसको पुरानै विधानमा भएका पदका अनुसार नै उम्मेदवार मनोनयन र मतदान प्रक्रिया अघि बढ्ने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीले बताए । विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको उनले बताए ।

कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यहरूको लागि मतदान हुनेछ । पुरानै विधान अनुसार अन्तिरिम समिति गठन गर्न निर्र्वाचन हुने बताइएको छ ।

विषेश महाधिवेशनको काम अगाडि बढिरहँदा संस्थापन पक्षसँग वार्ता पनि भइरहेको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीचको पहिलो चरणको वार्ता निश्कर्षविनै सकिएको छ । पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमति नभई वार्ता सकिएको विशेष महाधिवेशन पक्षधरबाट वार्तामा खटिएका मधु आचार्यले जानकारी दिए ।

दुवै पक्षले आआफ्ना प्रस्ताव राखेको भएपनि सहमति नभएको उनको भनाइ छ । आचार्यका अनुसार दोस्रो चरणको वार्तामा बस्ने नबस्ने भन्ने नेताहरूसँग कुरा गरेपछि टुंगो लाग्नेछ ।

विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे बसेका थिए । संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र मिनेन्द्र रिजाल वार्ता समितिमा बसेका थिए ।

वार्तामा विशेष पक्षमधरले अस्वाभाविक माग राख्दा निकास भेट्न कठिन भएको संस्थापन पक्षधरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds