विराटनगर । आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ ।
भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की भन्ने ठाउँमा उक्त घटना भएको हो ।
राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट भएको थियो । घटनामा वर्ष ३३ का धनबहादुर विक, उनकी श्रीमती वर्ष ३२ की कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विक र वर्ष ४७ का काशिराम विक, वर्ष ३२ की टीका विक, वर्ष १२ की अनु विक र वर्ष ७ का किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले बताए ।
धनबहादुर विक र काशिराम विकका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको बताइएको छ । सिलिन्डर पड्किँदा मृत्यु भएका सबैको शव छियाछिया परेर चिन्न नसकिने अवस्थामा रहेको बताइएको छ ।
आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका आफ्नोसहित राजेन्द्र विक, गंगाराम विक र अर्को एक जना गरी चारजनाको परिवार भागेर बच्न सफल भएका थिए । ‘अहिले हिमाचल प्रदेशको सोलान जिल्लाको सुरक्षाकर्मीको टोली शव संकलनमा लागेको छ । सिलिन्डर विस्फोटका कारण सबैको सब छियाछिया परेकाले संकलन गर्न कठिनाइ भएको छ,’ प्रेमले भने ।
घरको आर्थिक अवस्था दयनीय भएको र दुई छाक खर्च जुटाउन समस्या भएपछि मृतकका परिवारसहित टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल गएर मजदुरी गर्दै आएका थिए । सिद्धकुमाख २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले प्रेम विकले फोन गरेपछि घटनाको बारेमा थाहा पाएको बताए ।
दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको छ । पालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।
शव संकलनको काम भइरहेकाले उतै दाहसंस्कार गर्ने कि घरमै ल्याउने भन्ने विषयमा सिलोनको अर्कीमा रहेका स्थानीयसँग कुराकानी वडाध्यक्ष बुढाथोकीले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।