लोड हुँदैछ...

मेनु

कांग्रेसको विवाद सुल्झाउन लाजिम्पाटमा वार्ता सुरु

कांग्रेसको विवाद सुल्झाउन लाजिम्पाटमा वार्ता सुरु

काठमाडौँ । विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि वार्ता सुरु भएको छ । आज बिहान साढे ८ बजेदेखि काठमाडौँको लाजिम्पाटमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच औपचारिक छलफल भइरहेको हो ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा ७० प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर पुर्‍याउने लक्ष्यसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाब बढाएपछि सभापति शेरबहादुर देउवा पक्ष वार्ताका लागि तयार भएको हो ।

वार्तामा संस्थापन पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण ,शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता डा.मिनेन्द्र रिजाल सहभागी छन् ।
विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागि रहेका छन् । यसअघि विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग संवाद गर्नका लागि प्रदीप पौडेलको नेतृत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेका थिए । सोही समितिले आज बिहानैदेखि सहमतिको खाका तयार पार्न छलफल गरिरहेको छ ।

सभापति शेरबहादुर देउवाले सुरुमा भृकुटीमण्डपको विशेष महाधिवेशनलाई मान्यता नदिने र त्यहाँ उपस्थित नहुने अडान राखेका थिए । तर, महाधिवेशनमा प्रतिनिधिहरूको हस्ताक्षर संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि देउवा पक्ष रक्षात्मक बनेको छ । ७० प्रतिशत प्रतिनिधिको हस्ताक्षर पुगेको खण्डमा सभापतिलाई नेतृत्व छाड्न वा विशेष महाधिवेशनलाई वैधानिकता दिन नैतिक दबाब पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds