काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरुले आज एकैसाथ शपथ ग्रहण गर्दैछन् । विभिन्न १७ वटा कम्युनिस्ट घटकहरु मिलेर बनेको नेकपाले आफ्ना केन्द्रीय सदस्यहरुलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्न आज शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।
काठमाडौँको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे शपथ ग्रहण समारोह आयोजना गरिएको छ । पार्टीका अनुसार काठमाडौँ उपत्यकाभित्र रहेका केन्द्रीय सदस्यहरुलाई अनिवार्य रूपमा पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिइएको छ ।
उपत्यका बाहिर रहेका सदस्यहरुका लागि भने प्रविधिको प्रयोग गरी शपथ लिने व्यवस्था मिलाइएको छ । बाहिर रहेका सदस्यहरुले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमार्फत भर्चुअल (अनलाइन) माध्यमबाट शपथ लिने पार्टीले जनाएको छ ।
शपथ ग्रहण कार्यक्रमबारे जानकारी दिँदै नेकपाका नेता अग्नि सापकोटाले पार्टी एकताको प्रक्रिया पूरा भएसँगै बनेको केन्द्रीय कमिटीलाई औपचारिक रूपमा सक्रिय बनाउन यो कार्यक्रम आयोजना गरिएको बताए । ‘पार्टी एकतापछि बनेको नयाँ संरचनालाई विधिवत रूपमा चलायमान बनाउन र सदस्यहरुलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध बनाउन आजको शपथ ग्रहण महत्वपूर्ण छ, नेता सापकोटाले भने ।
लामो समयको छलफल र गृहकार्यपछि १७ वटा फरक–फरक कम्युनिस्ट समूहहरुबीच एकता भएर यो नेकपा निर्माण भएको हो । आजको शपथ ग्रहणसँगै पार्टीको केन्द्रीय कमिटीले पूर्णता पाउने र राजनीतिक गतिविधिले थप गति लिने विश्वास गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।