लोड हुँदैछ...

मेनु

निवर्तमान मन्त्रीको अनुभव

माननीयहरूको क्षेत्र केन्द्रित सोच हुँदोरहेछ : रामबहादुर मगर

माननीयहरूको क्षेत्र केन्द्रित सोच हुँदोरहेछ : रामबहादुर मगर

विराटनगर । कोशी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आफ्नो कार्यकाललाई मध्यम स्तरको सफलता का रूपमा व्याख्या गरेका छन् । उनले आफूले सुशासन र आर्थिक अनुशासनमा जोड दिएको दाबी गरे ।

मन्त्री मगरले आफ्नो १८ महिना २० दिनको अवधिमा दुईवटा बजेट ल्याउने अवसर पाए । पहिलो बजेटको अनुभव सुनाउँदै उनले भने, ‘सुरुको बजेटमा अनुभवको कमी थियो । रातभर बसेर ल्याइयो, तर त्यसले सबै कुरा समेट्न सकेन र धेरै माननीयहरूको चित्त बुझाउन सकिएन ।’ दोस्रो बजेट अलि व्यवस्थित भए पनि अन्य मन्त्रालयहरूको ढिलासुस्तीले समस्या परेको उनको अनुभव छ । उनले थपे, ‘भौतिक लगायतका मन्त्रालयहरूबाट ढिलो बजेट प्रविष्टि भएका कारण तयारीमा केही समस्या देखियो ।’

कोशी प्रदेशको बजेट क्षमता र स्रोतको सीमितताबारे मगरले यथार्थपरक विश्लेषण गरे । उनका अनुसार कोशी प्रदेशको बजेट तत्काल ३० अर्बको हाराहारीमा रहने देखिन्छ । ‘हामी ३० अर्बको हाराहारीमा छौं, केही वर्षसम्म यो भन्दा बढी उक्लिने अवस्था छैन,’ उनले भने ।

आन्तरिक आय ५ अर्ब मात्र रहेको उल्लेख गर्दै उनले यसलाई १० अर्बसम्म पुर्याउनुपर्नेमा जोड दिए । केन्द्र सरकारले प्रदेशलाई दिने बजेट निकै कम भएकोमा उनको गुनासो छ । ‘केन्द्रको बाँडफाँड नै ज्यादै कमजोर छ । केन्द्रको बजेटको कम्तीमा २५ प्रतिशत प्रदेश र स्थानीय तहलाई दिने हो भने अहिलेको भन्दा डबल काम गर्न सकिन्छ,’ उनले जिकिर गरे ।

राजनीतिक नेतृत्वमा रहेको कमजोरीलाई औंल्याउँदै मगरले भने, ‘हामी माननीयहरू जो जो चुनिएर आउँछौं, हामी क्षेत्र केन्द्रित छौं । सिङ्गो प्रदेश हेर्ने गरी छलफल गर्ने मान्छे ज्यादै थोरै छन् । मेरो क्षेत्रमा बजेट पुग्छ कि पुग्दैन भन्नेमै धेरैको ध्यान केन्द्रित हुँदो रहेछ ।’जनताको माग र बजेट पनि भौतिक निर्माण (बाटो, पुल, स्कुल) मा मात्र सीमित भएको र जनताको आर्थिक अवस्था सुधार गर्ने खालका नीतिमा कसैको ध्यान नगएको उनले बताए ।

प्रदेश सरकारले काम गर्न नसक्नुको एउटा मुख्य कारण कर्मचारीतन्त्रमा केन्द्रको प्रभाव रहेको मगरको अनुभव छ । प्रदेशका मुख्य कर्मचारीहरू केन्द्रबाट आउने र उनीहरूको बफादारिता प्रदेशप्रति नहुने उनले बताए ।

मगरले भने, ‘कर्मचारीहरूले प्रदेशको मन्त्रीलाई जतिसुकै गरे पनि आफ्नो बफादारिता र करियर विकास चाहिँ माथि (केन्द्र) नै हुन्छ भन्ने ठान्छन् । त्यसैले मन्त्रीले अराएको कुरा जस्ताको तस्तै लागू हुने परिस्थिति छैन ।’ उनले प्रदेशको आफ्नै कर्मचारी संयन्त्र नहुँदासम्म यो समस्या कायम रहने संकेत गरे ।

अन्य मन्त्रालयका मन्त्रीहरूले जहिले पनि अर्थ मन्त्रालयले फाइल रोकिदिएको गुनासो गर्ने गर्छन् । यसको जवाफ दिँदै मगरले आर्थिक अनुशासनको महत्व बुझाए । उनले भने, ‘घाँटी हेरेर हाड निल्नु भन्ने चिजलाई त पालना गर्नु पर्यो नि । जसले जति माग्यो त्यति दिन सकिँदैन । भुक्तानी सन्तुलन मिलाउन कतिपय कुरा निचोरेर राख्नुपर्छ ।’

उनले थपे, ‘स्रोत निश्चित नभएका बहुवर्षीय योजनाहरूलाई हामीले रोक्नैपर्छ । स्रोत ४० अर्बको छ अनि ४५ अर्बको बजेट बनायो भने अर्थ मन्त्रालय फेल हुन्छ । हामीले ८० देखि ९० प्रतिशतसम्म बजेट कार्यान्वयन गर्न सफल भएका छौं, यो ठूलो उपलब्धि हो ।’

मन्त्री हुँदा भ्रष्टाचार र अनियमितताको आरोप लाग्नु सामान्य जस्तै बनेको समाजमा आफू निष्कलंक भएर निस्कनुलाई उनले ठूलो सफलता मानेका छन् । ‘मन्त्रीले पैसा खायो, नराम्रो काम गर्यो भन्ने दाग नलाग्नु नै अहिलेको समाजमा ठूलो कुरा हो । म सफल भएको मापदण्ड पनि यही हो,’ उनले भने ।

मगरले प्रदेश संरचनालाई बलियो बनाउन प्रशासनिक संघीयता र वित्तीय विकेन्द्रीकरण अपरिहार्य रहेको औंल्याए । उनले आफ्नो कार्यकालमा कर्मचारीसँग कुनै टसल नभएको र मध्यम स्तरको सफलता प्राप्त गरेको भन्दै आगामी दिनमा पनि प्रदेशको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds