विराटनगर । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिक सुरक्षासँगै डिजिटल माध्यमबाट फैलिन सक्ने मिथ्या सूचनालाई मुख्य चुनौतीका रूपमा लिएको छ।
विराटनगरमा निर्वाचत अधिकृतहरुको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले सामाजिक सञ्जालबाट फैलिने अफवाह रोक्न सेना, प्रहरी र दूरसञ्चार प्राधिकरणको प्राविधिक टोली आयोगमै बसेर काम गरिरहेको जानकारी दिए।
राउतले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख सञ्चरमाध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पार्नसक्ने असरप्रति आयोग सचेत भई कार्य गरिरहेको जानकारी दिए । राउतले भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने प्रवृत्ति निर्वाचनमा हुनसक्ने भएकाले यसतर्फ सबैलाई सचेत रहन आग्रह समेत गरे ।
मिथ्या सूचना रोक्न फेसबुक र एक्ससँग पनि समन्वय भइरहेको उनले बताए। आयोगका अनुसार माघ २ गते देशभर निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।
आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रका लागि बजेट स्वीकृत भइसकेको छ। जिल्ला निर्वाचन कार्यालयहरूलाई ३७ प्रकारका सामग्री खरिद गर्ने अख्तियारी समेत दिइएको आयोगले जनाएको छ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले विकट भूगोल, खुला सिमाना र सामाजिक सञ्जालको दुरुपयोग यसपटकका प्रमुख चुनौती भएको बताए। दुई दिने अभिमुखीकरण कार्यक्रममा निर्वाचनसँग सम्बन्धित संवैधानिक व्यवस्था, सुरक्षा व्यवस्थापन, मतदाता शिक्षा र मतगणना प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गरी अभ्यास गराइने छ।
कोशी प्रदेशमा २८ निर्वाचन क्षेत्र रहेकोमा ३५ लाख ७४ हजारभन्दा बढी मतदाता छन् । जसका लागि १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र कायम गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।