काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल निष्कर्षमा नपुगेपछि महाधिवेशन थप लम्बिएको हो ।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य–सचिव माधवप्रसाद चम्लागाईंका अनुसार मंगलबार बिहानदेखि नै छलफलले निरन्तरता पाउनेछ । त्यसपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।
महाधिवेशनमा दुई महामन्त्रीका प्रतिवेदनमाथि ९ वटा समूह बनाएर घनिभूत छलफल भइरहेको छ। मंगलबार बिहान ९ बजे समूहका लिडरहरूले निष्कर्ष टेबुल गर्ने कार्यक्रम छ। नेतृत्व परिवर्तन गर्ने कि नीति तथा संकल्प प्रस्ताव पारित गरेर अघि बढ्ने भन्ने निर्णय सोही निष्कर्षका आधारमा हुनेछ।
विशेष महाधिवेशन पक्षले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भोलिसम्म हलमा आउने दाबी गरेका छन्। सोमबार बन्दसत्रपछि आयोजित पत्रकार सम्मेलनमा नेता मनोजमणि आचार्यले समापनसम्म पार्टी नेतृत्व आउने विश्वास व्यक्त गरे । उनले नेतृत्व नआए विशेष महाधिवेशनले नै नियमित महाधिवेशनले गर्ने काम गर्दै निर्वाचन प्रक्रियामा अघि बढाउने चेतावनीसमेत दिएका छन् ।
विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख भएसँगै देउवा र शेखर कोइराला पक्षले महामन्त्रीद्वयसँग संवाद तीव्र बनाएका छन्। देउवा निकट नेता रामहरि खतिवडाका अनुसार पार्टीलाई एकताबद्ध राख्न सभापति देउवाले विभिन्न नेताहरूसँग छलफल गरिरहेका छन् । महामन्त्रीद्वयसँग संवादको प्रयास भइरहेको छ।
सोमबार मात्रै केन्द्रीय सदस्यहरुले देउवासँग भेट गरी पार्टी फुट्न नदिने विषयमा छलफल गरेका थिए। शेखर कोइराला पक्षका नेताहरूले पनि महामन्त्री विश्वप्रकाश शर्मासँग संवाद गरेको र गगन थापासँग पनि कुराकानी भइरहेको बताएका छन्।
पार्टी एकता जोगाउन देउवा निकट केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयलाई बोलाएर लचकता देखाउन सुझाएका छन् । उनीहरूले विशेष महाधिवेशनलाई नीति महाधिवेशन मान्ने, १५औँ महाधिवेशनअगाडि आवश्यक समितिहरू गठन गर्ने र उम्मेदवार मनोनयनमा कार्यवाहक सभापतिको हस्ताक्षर हुने जस्ता विकल्प अघि सारेका छन् ।
विशेष महाधिवेशनकै बीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न आग्रह गरेका छन्। उनले अहिलेको बिषम परिस्थितिमा कांग्रेस एकताबद्ध भएर आगामी निर्वाचन र १५औँ महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन्।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा प्रतिवेदनमाथि छलफल चलिरहँदा कांग्रेस नेतृत्व, नीति र एकताको भविष्य मंगलबार हुने निर्णयमा निर्भर रहने देखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।