विराटनगर । कोशी प्रदेशका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता शमशेर राईले पार्टीको वर्तमान अवस्था र जारी काँग्रेसको विशेष महाधिवेशनको समयलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा हस्ताक्षर गरेपछि कुरा गर्दै उनले पार्टी फुट, विघटन र नेतृत्व परिवर्तनको त्रिकोणात्मक जोखिम रहेको बताए ।
कोशी प्रदेशका सांसद समेत रहेका नेता राईले आफूले पार्टी फुट्ने डरले मात्र हस्ताक्षर गरेको बताए । ‘हामीले हस्ताक्षर नगर्दा पार्टी फुट्नबाट जोगिने अवस्था देखिएन,’ उनले भन्ने, ‘पार्टीलाई एकताबद्ध राख्न र कार्यकर्ताको भावना बुझेर मात्रै ढिला गरी हस्ताक्षर गरेको हुँ ।’
नेतृत्व परिवर्तनको मागलाई स्वाभाविक ठान्दै नेता राईले अहिलेको समय भने उपयुक्त नभएको तर्क गरे । फागुन २१ गते निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने समयमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई नै कोल्याप्स (विघटन) गर्ने खतरा रहेको उनको दाबी छ । ‘नेतृत्व परिवर्तन आजको आवश्यकता हो, जुन कुरा हामीले कोशी सरकार बदल्दा नै देखाइसकेका थियौं, तर निर्वाचनको मुखमा यसो गर्दा पार्टीले वैधानिकता गुमाउने र चुनावै लड्न नसक्ने स्थिति आउन सक्छ,’ राईले भने ।
पार्टीभित्र देखिएको यो संकटको जिम्मेवारी सभापति शेरबहादुर देउवादेखि टोल कमिटीसम्मका सबै तहका नेताहरूले लिनुपर्ने उनको भनाइ छ । उनले कांग्रेस जस्तो ऐतिहासिक पार्टी कमजोर हुँदा नेपालको लोकतन्त्र नै संकटमा पर्ने भएकाले कसैलाई दोष थोपर्नेभन्दा पनि आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।
विशेष महाधिवेशनमा कोशी प्रदेशबाट शमशेर राईसँगै अमृत अर्याल, केदार कार्की, हिमाल कार्की, विनोद वान्तवा र गोविन्द गिरी लगायतका नेताहरूको उपस्थिति रहेको छ । नेता राईका अनुसार पार्टीलाई फुटबाट जोगाउन र सही दिशा दिन अन्तिम समयसम्म पनि प्रयास भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।