विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पपुलिजम र अराजकतावादको लहरले लोकतान्त्रिक प्रणाली, उदारवाद, बहुलवाद, समावेशिता र संघीयताको मर्मलाई कमजोर बनाउँदै लगेको बताएका छन्।
पार्टीको दोस्रो विशेष महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमार्फत थापाले लोकतन्त्र चमत्कारबाट होइन, प्रणाली, पद्धति र प्रक्रियाबाट सुदृढ हुने स्पष्ट पारेका छन्।
प्रतिवेदनमा विश्वव्यापी रूपमा बढ्दो पपुलिस्ट र अराजकतावादी प्रवृत्तिले नेपालमा पनि लोकतान्त्रिक संस्था र मूल्य–मान्यतालाई अवमूल्यन गर्ने पात्र र सोचहरू जन्माएको उल्लेख छ । थापाले लोकतन्त्रलाई कमजोर संस्थामाथि होइन, सबल र उत्तरदायी संस्थामार्फत अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
“लोकतन्त्र शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो,” प्रतिवेदनमा उल्लेख छ। नयाँ शक्तिका रूपमा उदाएका रास्वपा सभापति रवि लामिछानेप्रति संकेत गर्दै प्रतिवेदनमा समावेशिता र संघीयता जस्ता संविधानका आधारभूत विषयमा सहमति गर्न उनी तयार नदेखिएको गम्भीर टिप्पणी गरिएको छ।
थापाले पपुलिस्ट नारामार्फत प्रणालीमाथि अविश्वास पैदा गर्ने प्रवृत्तिले संविधान र लोकतान्त्रिक संरचनामै खतरा सिर्जना गर्ने चेतावनी दिएका छन्। यही सन्दर्भमा उनले काठमाडौं महानगरका मेयर बालेन साहजस्ता पात्रप्रति समेत संकेत गर्दै अराजकतावादी सोचबाट सचेत हुन जनतालाई आह्वान गरेका छन्।
विशेष महाधिवेशनको बन्दसत्रमा थापाले संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार कांग्रेसको विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक रहेको पनि दाबी गरे। निर्वाचन आयोगले यसलाई अवैधानिक भन्न नसक्ने उनको भनाइ थियो।
महाधिवेशनले ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। निराशा, घृणा र प्रतिशोधको राजनीतिलाई परास्त गर्दै आशा, विश्वास र लोकतान्त्रिक संस्कार पुनःस्थापना गर्नु अभियानको मुख्य उद्देश्य रहेको थापाले बताए।
थापाले विगतमा भएका सत्ताकेन्द्रित सहकार्य र त्यसबाट उत्पन्न राजनीतिक संकटप्रति आत्मआलोचना गर्दै आम नागरिकसँग क्षमायाचना गरेका छन्। सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्यमा अब कांग्रेस दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।