काठमाडौं । चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई रोमाञ्चक फाइनल खेलमा पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार राति साउदी अरेबियामा भएको ४२ औं संस्करणको फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पाँचवटै गोल पहिलो हाफमै भएको थियो। बार्सिलोनाको जितमा राफिन्हाले महत्त्वपूर्ण दुई गोलको योगदान गरे। उनले निर्धारित समयको ३६ औं र ७३ औं मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि अर्को एक गोल भने रोबर्ट लेवान्डोवस्कीले पहिलो हाफको इन्जुरी समयमा गरेका थिए।
यता रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक–एक गोल फर्काएका थिए। उनीहरू दुवैले पहिलो हाफको इन्जुरी समयमै गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन्।
यो जितसँगै बार्सिलोना स्पेनिस सुपर कपको इतिहासमा सबैभन्दा बढी उपाधि जित्ने टोली बन्न सफल भएको छ। बार्सिलोनाले हालसम्म १६ औं पटक यो उपाधि उचालेको हो। यस्तै, १३ पटक उपाधि जितेको रियल म्याड्रिड सबैभन्दा बढी उपाधि जित्ने टोलीको सूचीमा दोस्रो स्थानमा रहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।