लोड हुँदैछ...

मेनु

समानुपातिकतर्फका उम्मेदवारले आज नाम फिर्ता लिन पाउने, आयोगद्वारा प्रक्रिया पुर्‍याएर निवेदन दिन आग्रह

समानुपातिकतर्फका उम्मेदवारले आज नाम फिर्ता लिन पाउने, आयोगद्वारा प्रक्रिया पुर्‍याएर निवेदन दिन आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिने अवसर दिएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले बन्दसूचीमा नाम भएका तर उम्मेदवारी फिर्ता लिन चाहने व्यक्तिहरूलाई प्रक्रिया पुर्‍याएर निवेदन दिन आग्रह गरेको हो।

आयोगका अनुसार उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि सोमबार १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ। इच्छुक उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूबाट यहि पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा स्वीकृत कार्यक्रम बमोजिम उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यहोरा जानकारी गराइन्छ।’

यसअघि दलहरूले बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारहरूले तोकिएको समय र स्थानमा उपस्थित भई रीतपूर्वक निवेदन दिएमा उनीहरूको नाम सूचीबाट हटाइने आयोगले जनाएको छ। यो प्रक्रिया निर्वाचनको कार्यतालिका अनुसार नै अगाडि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds