विराटनगर । संस्थापन पक्ष र डा।शेखर कोइराला समूहको दबाब र धम्की बेवास्ता गर्दै काठमाडौंको भृकुटीमण्डमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै आह्वान भएको विषेश महाधिवेशनको विरुद्ध काँग्रेसमा संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका कोइराला पनि उभिँदा उनकै पक्षका नेता तथा कार्यकर्ता पनि महाधिवेशनमा सहभागी हुन पुगेका छन् ।
कोइराला पक्षधर मानिएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अन्तिम समयमा लाइन क्लियर गरे । कोइरालाले मोरङबाट आफ्नो समूहमा रहेका कसैलाई पनि महाधिवेशनमा सहभागी नहुन उर्दी जारी गरेका थिए । तर, कोइरालाका निकट सहयोगी मानिने कार्कीले नै उनको साथ छाडे । कार्कीले महाधिवेशनलाई सम्बोधन गर्दैै नेतृत्व परिवर्तनमा जोड दिएका छन् ।
शेखर कोइरालाकै निर्वाचन क्षेत्रका पनि आधा दर्जन बढि महाधिवेशन प्रतिनिधिले भृकुटीमण्डप पुगेर हस्ताक्षर गरिसकेका छन् । मोरङ क्षेत्र नं. ६ का जनार्दन निरौला, खेम थापा, शोभा कोइराला, भगवान मोक्तासहितम महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
मोरङबाट १५९ जना महाधिवेशन प्रतिनिधिमध्ये विषेश महाधिवेशन माग गर्दा मोरङका ५४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए । विषेश महाधिवेशनमा भने १०० भन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेता केदार कार्कीले जानकारी दिएका छन् । शेखर कोइरालाले राजनीतिक परिस्थितिको मूल्यांकन गरेर नेतृत्व गर्नेभन्दा कर्मचारीको जस्तो भूमिका मात्र खेलेकोले आफूहरु विषेश महाधिवेशनमा सहभागी भएको उनले बताएका छन् ।
मोरङबाट केन्द्रीय सदस्य अमृत अर्याल, नेता महेश आचार्य, प्रदेश सहमहामन्त्री खड्ग फागो, जिल्ला सचिव ललित श्रेष्ठ, नेताहक्रु बिश्वनाथ रिजाल, सुयर्माराज राई, यदु विष्ट, रोहित कार्की, रविन राई, रामकुमार कामतसहित विशेष महाधिवेशनमा सहभागी भएका छन् । अहिले पनि महाधिवेशनमा सहभागी हुन रसिद लिने लाइनमा धेरै रहेकोले यकिन संख्या आइनसकेको प्रदेश सहमहामन्त्री फागोले जानकारी दिए ।
देशभरबाट काँग्रेसका ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन्। उनीहरुमध्ये ३ हजार ९०० भन्दा धेरैले महाधिवेशनमा हस्ताक्षर गरेका छन् । यो संख्या ६२ प्रतिशतभन्दा धेरै हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।