विराटनगर । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्दैछन् भने अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
शर्माले पेश गर्ने सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसद मात्रै हुन पाउने व्यवस्था उल्लेख गरिएको छ। शर्र्माले यसअघि काँग्रेसको महासमिति बैठकमा यहि प्रस्ताब पेश गरेकोमा अस्वीकृत भएको थियो । महाधिवेशनले भने त्यसलाई पारित गर्ने संभावना छ ।
शर्माले पार्टीका केन्द्रदेखि वडासम्म जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने र केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३०–४० वर्ष उमेर समूहका २० जनाको प्रतिनिधित्व गराउने प्रस्ताव गर्दैछन् । यस्तै, प्रदेश समितिमा ३० मुनिका १० र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव छ । जिल्लामा पनि सोही अनुसार ६–६ जना र वडामा ४–४ जना प्रतिनिधित्व गराउने प्रस्ताव छ ।
प्रतिवेदनमा विभिन्न पेशा, व्यवसायमा रहेकाहरूलाई पार्टी संरचनामा ‘ल्याट्रल इन्ट्री’ गराउने व्यवस्था पनि समावेश हुने स्रोतले जानकारी दिएको छ । प्रत्येक देशका जनसम्पर्क समितिबाट पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने, त्यसमा प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्ष परिषद् सदस्य रहने र अन्तर्राष्ट्रिय परिषद् २७ सदस्य हुने उल्लेख गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।