लोड हुँदैछ...

मेनु

काँग्रेसको नेतृत्व परिवर्तन गर्ने त्यो पहिलो विषेश महाधिवेशन र यो दोस्रो विषेश महाधिवेशन

काँग्रेसको नेतृत्व परिवर्तन गर्ने त्यो पहिलो विषेश महाधिवेशन र यो दोस्रो विषेश महाधिवेशन

विराटनगर । काठमाडौंमा आइतबार सुरु भएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनसँगै काँग्रेसको पहिलो विषेश महाधिवेशनको सम्झाना भइरहेको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक दबाबसँगै नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै जाँदा काँग्रेसको दोस्रो विषेश महाधिवेशन सुरु हुँदा पहिलो विषेश महाधिवेशनले भने नेतृत्व परिवर्तन गरेको थियो ।

कांग्रेसको इतिहासमा विशेष परिस्थितिमा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरिएको उदाहरण रहेको छ । २०१४ सालमा काँग्रेसको पहिलो विशेष महाधिवेशनको भएको थियो । अहिले सभापति शेरबहादुर देउवा र संस्थापन पक्षले विषेश महाधिवेशनलार्य अबैधानिक भनिरहेको बेला पहिलो विषेश महाधिवेशन भने नेतृत्वले आफैं बोलाएको थियो ।

तत्कालीन सभापति सुवर्ण शम्शेरले चुनावी राजनीतिका लागि ‘डाइनामिक नेतृत्व’ आवश्यक भएको ठहर गर्दै विशेष महाधिवेशन बोलाएका थिए। सोही महाधिवेशनबाट बीपी कोइराला सभापति चयन भएका थिए । कोइरालाको नेतृत्वमा २०१५ सालको ऐतिहासिक निर्वाचनमार्फत काँग्रेसले दुईतिहाई सिट जितेको थियो भने देशको पहिलो जननिर्वाचित सरकार बनेको थियो।

‘क्रान्ति गरेर लडाई जित्नु भन्दा शान्तिपूर्ण तवरले लडाई जित्न गाह्रो हुन्छ । हाम्रो यो शान्तिपूर्ण लडाईं निर्धारित समयमा चुनाव गराउन सरकारलाई बाध्य गराउने र चुनावमा विजय हासिल गर्ने हो त्यसको निमित्त सक्षम र गतिशील डाइनामिक नेतृत्वको आवश्यकता छ’ सुवर्णले बीपीलाई नेतृत्वका लागि अनुरोध गर्दै भनेका थिए । सुवर्ण शम्शेरको यो आग्रहपछि बीपीले भनेका थिए, ‘साथी सुवर्णजी अहिले हाम्रो पार्टीको सभापति पदमा हुनुहुन्छ यो पदबाट उहाँले राजीनामा दिएर अर्को सभापतिको चयन गर्न उहाँले विशेष महाअधिवेशन बोलाउनुभएको छ । यसले सुवर्णजी पार्टीको हितबाहेक अरु केही चाहनुहुन्न भन्ने कुरालाई अरु पुष्टि गरेको छ ।’

अहिले पनि समयको पदचाप बुझ्ने खालको ‘डाइनामिक लिडर’ कै खोजीमा कांग्रेसको विशेष महाधिवेशनको माग भइरहेको छ । तर, अहिले सुवर्ण जस्तो पद त्याग्ने नेता त के बहुमत महाधिवेशन प्रतिनिधिको आवाज दबाउने प्रयासमा संस्थापन पक्ष देखिन्छ ।

नेपाली कांग्रेसले ९ माघ २०१२ मा पार्टीको छैटौं महाधिवेशन आयोजना गरेको थियो । वीरगञ्जमा तीन दिनसम्म चलेको महाधिवेशनले पार्टीको नेतृत्वमा गणेशमानलाई हराउँदै सुवर्ण निर्वाचित भएका थिए । ८ चैत २०१३ देखि सप्तरीको राजविराजमा नेपाली कांग्रेसका जिल्ला सभापति र सचिवहरूको दुई दिने सम्मेलन भयो । सम्मेलनको अन्त्यमा सभापति सुवर्ण शमशेरले विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गराएका थिए ।

दुई दिनसम्म चलेको विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापतिमा सर्वसम्मत चयन गर्‍यो । महाधिवेशनको सभापतित्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । विषेश महाधिवेशनबाट तत्कालीन सभापति सुवर्णशमशेर कोषाध्यक्ष बने । विश्वबन्धु थापा र तुलसी गिरीलाई महामन्त्री चयन गरियो ।

अहिले पनि काँग्रेसमा नेतृत्व परिवर्तनको माग छ । दोस्रो पुस्ताका नेता र कार्यकर्ताले मूल नेतृत्व परिवर्तनको माग गरिरहेका छन् । पहिलो पुस्ताका नेताहरू भने त्यसप्रति सहमत छैनन् । अरु त अरु काँग्रेसमा संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका नेता डा.शेखर कोइराला नै विषेश महाधिवेशनको विपक्षमा उभिएका छन् ।

विशेष महाधिवेशन पक्षधर समूहले १४ औँ महाधिवेशनका ५३ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षरसहित विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग गरेको थियो । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, सरकार र पार्टी नेतृत्वप्रति बढेको असन्तोष र आगामी निर्वाचनको तयारीका लागि नयाँ नेतृत्व आवश्यक भएको उनीहरूको तर्क छ।

संस्थापन पक्ष भने केन्द्रीय कार्यसमितिको कार्यकाल अन्त्यतिर पुगिसकेको भन्दै विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाइरहेको छ। विषेश महाधिवेशन माग भएपछि संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट
मंसिरभित्र नियमित महाधिवेशन गर्ने निर्र्णय गरेको थियो । तर, समय नपुगेको भन्दै त्यसलाई वैशाखमा सारिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विषेश महाधिवेशन सुरु भएको हो ।

जेनजी आन्दोलनले कांग्रेसभित्र ल्याएको उथलपुथलले नेतृत्व परिवर्तनको बहसलाई थप तीव्र बनाएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षति, तत्कालीन सरकारको पतन र सभापति देउवामाथि भएको आक्रमणपछि कांग्रेसभित्र नयाँ नेतृत्वको माग मुखर बनेको हो।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिले चाहेमा, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा वा सभापतिको पद रिक्त भएमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ। यही प्रावधान टेकेर विशेष महाधिवेशन पक्षधर अघि बढेका छन्।

सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पेका छन् । तर, बैठकको अध्यक्षता गर्ने बाहेक कुनै अधिकार उनीसँग छैन । बैठकबाट पनि उनी देउवाकै निर्देशन अनुसार निर्णय गराउँछन् ।

२०१५ सालको आमनिर्वाचन र त्यसअघि सम्पन्न विशेष महाधिवेशन झैँ अहिले पनि पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा जानुपर्ने बहस कांग्रेसमा चलिरहेको छ ।

२०१४ को भन्दा अहिलेको माग विशेष रहेको विशेष महाधिवेशन पक्षधरको भनाइ छ । ‘त्यतिबेला नेताहरूले परिस्थिति बुझेर विधानअनुसार निर्णय गरेका थिए,’ विशेष महाधिवेशन पक्षधर युवा भन्छन्, ‘तर, अहिले कार्यकर्ताहरुले परिस्थिति बुझेर विधानअनुसार चल्न नेताहरुलाई आह्वान गरेका छन् ।’

अहिले प्रश्न एउटै छ—कांग्रेस २०१४ सालको जस्तै समयको पदचाप बुझेर नेतृत्व परिवर्तन गर्छ कि आन्तरिक मतभेदकै बीच नियमित महाधिवेशनमा जान्छ ? यसको उत्तरले कांग्रेसको आगामी राजनीतिक यात्राको दिशा तय गर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds