विराटनगर । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादका बीच यसको पक्षमा उभिने नेताहरूको संख्या बढ्दै गएको छ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुँदै कांग्रेस नेतृ डिला संग्रौला पनि खुलेर विशेष महाधिवेशनको पक्षमा उभिएकी छन्।
काँग्रेसभित्र शेरबहादुर देउवा निकट उनी यसअघि र्वजनिक रूपमा विशेष महाधिवेशनको समर्थनमा देखिएकी थिइनन्। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै माग गरेअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन आह्वान गरिएको हो।
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहले भने यसलाई विधानविपरीत भन्दै असहमति जनाउँदै आएको छ। त्यसका बाबजुद भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह औपचारिक रूपमा सुरु भइसकेको छ।
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की विशेष महाधिवेशनको पक्षमा खुलिसकेका छन् । डा.शेखर कोइरालानिकट मानिने कार्कीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश र पार्टी जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
“देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य छ,” उनको भनाइ छ। उनी पनि भृकुटीमण्डप पुगिसकेका छन् ।
भृकुटीमण्डपमा जारी उद्घाटन समारोहमा डा. शोखर निकट डा. चन्द्र भण्डारी र सुनिलकुमार शर्मा पनि पुगेका छन् । दुवैलाई अतिथिका रूपमा मञ्चमा आसन ग्रहण गराइएको छ। नेता कोइरालाले भने विषेश महाधिवेशनको विरोध गर्दै आएका छन् ।
पार्टी विभाजन रोक्न मध्यमार्गी विकल्प खोजिरहेको देउवा पक्षका केही केन्द्रीय सदस्यहरू पनि विशेष महाधिवेशनमा सहभागी भएका छन्। उद्घाटन समारोहमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, राजन केसी, अब्दुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी, उदयशमशेर राणालगायत नेताहरूको नाम मञ्चबाट वाचन गरिएको थियो । उपस्थित भएका केन्द्रीय सदस्यहरूलाई मञ्चमा आसन ग्रहण गराइएको छ । अन्य नेताहरू कार्यक्रममा सहभागी हुन आउँदै गरेको जानकारी आयोजकले दिएका छन्।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद कायमै रहेपनि भृकुटीमण्डपमा बढ्दो सहभागिताले काँग्रेसको संस्थापन पक्ष दबाबमा परेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।