लोड हुँदैछ...

मेनु

शेखरको ‘लाइन’ तोड्दै विशेष महाधिवेशनमा होमिए केदार कार्की

शेखरको ‘लाइन’ तोड्दै विशेष महाधिवेशनमा होमिए केदार कार्की

विराटनगर । नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा देखिएको रस्साकस्सीका बीच कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रभावशाली युवा नेता केदार कार्कीले संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाको साथ छोडेका छन्। लामो समयदेखि कोइराला क्याम्पका ‘कि–प्लेयर’ मानिने कार्कीले आफ्नै गुटका ‘कमान्डर’ को निर्देशन अवज्ञा गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु भएको ‘विशेष महाधिवेशन’ को पक्षमा खुलेर उभिएका हुन्।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेतृत्व र नीति परिवर्तनको मागसहित आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन अभियानमा डा. कोइरालाले असहमति जनाएका थिए। तर, कोइरालाको असहमतिलाई बेवास्ता गर्दै नेता कार्की विराटनगरबाट काठमाडौँ ओर्लिएर भृकुटीमण्डपको भीडमा मिसिएका छन्।

‘कमान्डर विचलित भए, सिपाही हुँदैन’

विशेष महाधिवेशनबारे कुरा गर्दै नेता कार्कीले १४औँ महाधिवेशनमा डा. शेखर कोइरालाले उठाएका एजेन्डाहरू अहिले आफूले बोकेको तर कोइराला स्वयम् भने ती एजेन्डाबाट विचलित भएको आरोप लगाए।

“म कुनै पनि एजेन्डाबाट विचलित भएको छैन। १४औँ महाधिवेशनअघि मेरो जे एजेन्डा, लेख र धारणा थियो, म आज पनि त्यहीँ छु,” कार्कीले भने, “कमान्डर (शेखर) विचलित हुनुभयो होला, तर कमान्डर विचलित हुँदैमा सिपाही पनि विचलित हुनुपर्छ भन्ने छैन।”

उनले नेतृत्वले बाटो बिरायो भन्दैमा सही एजेन्डा छोड्न नसकिने तर्क गरे। नियमित महाधिवेशन विधानअनुसारको समयमा हुने सम्भावना टरेको भन्दै उनले विशेष महाधिवेशनको अपरिहार्यता झन् बढेको दाबी गरे। “शेखर कोइरालाको एजेन्डा पास गराउने मेरो दायित्व र अभिभारा हो, तर उहाँ आफैँ छुट्नुभयो भने उहाँको राजनीतिक भविष्य उहाँले नै सोच्ने कुरा हो,” कार्कीले चेतावनीपूर्ण शैलीमा भने।

‘लगनमा सिन्दुर हाल्न मण्डपमै आएको हुँ’

यसअघि विशेष महाधिवेशनको पक्षमा खुलेर नबोलेका कार्की एकाएक काठमाडौँ देखिएपछि धेरैले आश्चर्य मानेका थिए। भौतिक रूपमै उपस्थित हुनुको कारण खुलाउँदै उनले भने, “अस्ति नै समर्थन गरेर वा टाढैबाट हस्ताक्षर गरेर मात्र हुँदैन। लगनमा पो सिन्दुर हाल्ने त ! पहिले नै हालेर बिहे हुन्छ र ? विवाह सम्पन्न हुन मण्डपमै पुग्नुपर्छ। यो विशेष महाधिवेशनको अभियान पनि त्यस्तै हो।”

उनले आफू पूर्ण तयारीका साथ काठमाडौँ आएको र अब पछाडि हट्ने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे।

‘बाढीजस्तै आमूल परिवर्तन आउँछ’

नेता कार्कीले विशेष महाधिवेशनलाई पार्टीभित्रको ‘बाढी’ को संज्ञा दिएका छन्। यो महाधिवेशनले नीतिगत सुधार मात्र नभई नेतृत्व परिवर्तन पनि गर्ने उनको दाबी छ।

“विशेष महाधिवेशन भनेको सामान्य कुरा होइन, यो ‘ड्रास्टिक चेन्ज’ (आमूल परिवर्तन) हो,” कार्कीले भने, “यो बाढीजस्तै हो, जसले धेरै कुरा बगाएर लैजान्छ र नयाँ निर्माण गर्छ।” उनले हल (बन्दसत्र) ले नेतृत्वको विकल्प खोज्ने प्रस्ताव पारित गरेमा त्यो सबैका लागि मान्य हुने बताए। अहिलेको अभियानले पार्टीमा शेरबहादुर देउवाको ‘यथास्थितिवादी लाइन’ र परिवर्तन पक्षधरको ‘विशेष महाधिवेशन लाइन’ गरी दुई स्पष्ट कित्ता देखिएको उनको विश्लेषण छ।

६० प्रतिशत पुग्ने दाबी

डा. शेखर कोइरालाको असहमतिका बाबजुद पनि प्रतिनिधिहरूको सङ्ख्या पुग्छ त ? भन्ने प्रश्नमा कार्कीले ढुक्क हुँदै जवाफ दिए, “मजाले पुग्छ। ६० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुन्छ। तपाईंहरू हेर्दै जानुहोला।”

अहिले भृकुटीमण्डपमा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको र दर्ता प्रक्रिया चलिरहेको जानकारी दिँदै उनले अन्तिम समयसम्म सङ्ख्या बढ्ने दाबी गरे। “अब बहुमत पुग्छ, विशेष महाधिवेशन सफल हुन्छ, यसमा कुनै शंका छैन,” उनले भने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds