काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा आजदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट कांग्रेस नेता तथा कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डप पुग्ने क्रम जारी छ।
बिहानैदेखि उपत्यकाका विभिन्न कुनाबाट निस्किएका र्यालीहरू भृकुटीमण्डपमा केन्द्रित भइरहेका छन्। केही र्यालीहरू कार्यक्रमस्थल पुगिसकेका छन् भने कतिपय बाटोमै रहेको बताइएको छ। कार्यकर्ताहरूले पार्टीको आन्तरिक सुदृढीकरण र रुपान्तरणका पक्षमा नाराबाजी समेत गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन र नीतिगत स्पष्टता ल्याउन यो विशेष महाधिवेशन फलदायी हुने दाबी गरेका छन्। यद्यपि, पार्टीको आन्तरिक विवाद र मतभेदका कारण संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरू भने यो महाधिवेशनमा सहभागी भएका छैनन्।
संस्थापन पक्षको अनुपस्थितिले कांग्रेसभित्रको गुटगत राजनीति र मतभेदलाई पुनः सतहमा ल्याइदिएको छ। महामन्त्रीद्वयले यसअघि नै पार्टीलाई जीवन्त राख्न र कार्यकर्ताको मनोबल उच्च बनाउन यो कार्यक्रम अपरिहार्य रहेको बताउँदै आएका थिए।
भृकुटीमण्डप वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थितिले प्रदर्शनीमार्ग क्षेत्रको ट्राफिक व्यवस्था समेत प्रभावित भएको छ। महाधिवेशनमा देशभरका विभिन्न स्थानबाट आएका प्रतिनिधिहरूको पनि सहभागिता रहने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।