लोड हुँदैछ...

मेनु

नेपाली कांग्रेसका कोशीका ८ जिल्ला सभापति विशेष महाधिवेशनको विरोधमा

नेपाली कांग्रेसका कोशीका ८ जिल्ला सभापति विशेष महाधिवेशनको विरोधमा

विराटनगर । नेपाली कांग्रेसका कोशी प्रदेशका ८ जिल्लाका सभापतिहरूले वर्तमान परिस्थितिमा पार्टीको विशेष महाधिवेशनको कुनै वैधानिक औचित्य नरहेको बताएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीलाई आन्तरिक विवादमा नअल्झाई आगामी निर्वाचनमा केन्द्रित हुन नेतृत्वलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा मोरङका डिगबहादुर लिम्बु, झापाका देउमान थेबे, खोटाङका विष्णु कुमार राई, पाँचथरका रुपनारायण जबेगु, इलामका डम्बर खड्का, ओखलढुङ्गाका तेजेन्द्र खनाल, ताप्लेजुङका गजेन्द्र तुम्याङ सुब्बा र संखुवासभाका का.बा. सभापति अनन्तकुमार गौलीले हस्ताक्षर गरेका छन् । उनीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र कृष्णप्रसाद सिटौला निकट हुन् ।

प्रतिनिधिसभा विघटनपछिको तरल राजनीतिक अवस्था र आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको सन्दर्भ उल्लेख गर्दै सभापतिहरूले देश निर्वाचनको प्रक्रियामा अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको माग सान्दर्भिक नभएको उल्लेख गरेका छन् ।
‘नियमित महाधिवेशन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेशनको माग गरिन्छ । तर, अहिले नियमित महाधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा केन्द्रीय तहको मात्र अधिवेशन हुने गरी विशेष महाधिवेशनको कुनै वैधानिक औचित्य छैन’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको विधान अनुसार महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको स्मरण गराउँदै उनीहरूले सिंगो पार्टीलाई अन्य भेला र समारोहमा नअल्झिन आग्रह गरेका छन् । मुलुकको सुरक्षा संवेदनशीलता र राजनीतिक निकासका लागि नेपाली कांग्रेस थप जिम्मेवार बन्नुपर्ने उनीहरूको ठहर छ ।

सभापतिहरूले पार्टी विभाजन हुन नदिन र देखिएका समस्याहरूलाई अविलम्ब समाधान गरी एकताबद्ध भएर अगाडि बढ्न केन्द्रीय नेतृत्वलाई समेत ध्यानाकर्षण गराएका छन् । काँग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भने आइतबारदेखि हुँदैछ ।

तेह्रथुमका सभापति अर्जुन तुम्बाम्फे, धनकुटाका दिनेश राई ,भोजपुरका सभापति विनोद राई, उदयपुरका सभापति हिमाल कार्कीलगायतका भने विषेश महाधिवेशनको पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds