विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेल (सितलकुमार) ले मुलुकको विद्यमान समस्या समाधानका लागि समाजवादी क्रान्तिको विकल्प नभएको बताएका छन् ।
मोरङको पथरी शनिश्चरेमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुरेलले पुँजीवादी व्यवस्थाले जनताका आधारभूत समस्या हल गर्न नसक्ने ठोकुवा गरे ।
आफ्नो सम्बोधनका क्रममा नेता गजुरेलले इलाम जिल्लालाई कम्युनिष्ट आन्दोलनको उर्वर भूमिको रूपमा चित्रण गरे । रत्नकुमार बान्तवा र सुुदीप लगायतका शहीदहरूको रगतले सिञ्चित इलामले झलनाथ खनाल जस्ता प्रधानमन्त्री जन्माएको स्मरण गर्दै उनले भने, ‘इलाम कम्युनिष्ट आन्दोलनको धरोहर हो, तर अहिले यसको गौरवपूर्ण इतिहासलाई जोगाउने ठूलो चुनौती छ ।’ उनले आगामी निर्वाचनमा प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्दै हँसिया हथौडा अंकित झण्डा फहराउन कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।
नेता गजुरेलले १६ वटा कम्युनिष्ट पार्टीहरूबीचको एकता प्रक्रिया ऐतिहासिक भएको बताए । उनले झलनाथ खनाल र भीम रावल जस्ता राष्ट्रवादी नेताहरूको उपस्थितिले यो एकतालाई थप उचाइ दिएको उल्लेख गरे । ‘यदि यो एकता नभएको भए कम्युनिष्ट आन्दोलन थप विभाजित हुने थियो र प्रतिक्रियावादीहरूले चलखेल गर्ने मौका पाउने थिए,’ उनले भने । भीम रावललाई ओलीसँग टक्कर लिने राष्ट्रवादी नेताको रूपमा चित्रण गर्दै उनले सबै क्रान्तिकारी कम्युनिष्टहरू एक ठाउँमा आउनुको विकल्प नरहेको स्पष्ट पारे ।
नेता गजुरेलले नेपालको राजनीतिमा बढ्दो वैदेशिक हस्तक्षेप, विशेषगरी अमेरिकी चलखेलप्रति कडा आपत्ति जनाए । अमेरिकाले विभिन्न देशका राष्ट्रपतिहरूलाई पक्राउ गर्ने र मुद्दा चलाउने जस्ता कार्य गरेको उदाहरण दिँदै उनले नेपाललाई पनि भू–राजनीतिक जटिलता र भुमरीमा पार्ने षडयन्त्र भइरहेको दाबी गरे । यस्तो षडयन्त्रबाट मुलुकलाई जोगाउन शक्तिशाली कम्युनिष्ट पार्टी आवश्यक रहेको उनको भनाइ थियो ।
वर्तमान संविधान समाजवाद उन्मुख भए पनि यसले मात्रै जनताका समस्या हल गर्न नसकेको उनले बताए । ‘समाजवाद उन्मुख संविधानले मात्र पुगेन, अब समाजवादी कार्ययोजना नै लागू गर्नुपर्छ,’ उनले भने, ‘जातीय विभेद, धनी–गरिबको खाडल र दलित–महिलामाथिको विभेद अन्त्य गर्न समाजवादी क्रान्ति अनिवार्य छ ।’ कार्यक्रममा नेकपाका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।