लोड हुँदैछ...

मेनु

एकता प्रक्रिया टिकेन, कुलमान बने उज्यालो नेपालको अध्यक्ष

एकता प्रक्रिया टिकेन, कुलमान बने उज्यालो नेपालको अध्यक्ष

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै टुंगिएको छ । एकता प्रक्रियामा सहमति हुन नसकेपछि उज्यालो नेपाल पार्टी (उनेपा) ले कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गरेको छ। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले संरक्षक घिसिङलाई नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

बैठकको निर्णयबारे जानकारी दिँदै नेता गणेश घिसिङले कुलमानलाई अध्यक्ष नियुक्त गरिएको र यसको औपचारिक घोषणा पत्रकार सम्मेलनमार्फत गरिने बताए। यससँगै अब उनेपा र रास्वपा आगामी चुनावमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

गत पुस १४ गते भएको ७ बुँदे प्रारम्भिक सहमतिपछि दुई दलबीच एकताको पहल भएको थियो। तर, पदको बाँडफाँट र वैचारिक दृष्टिकोणमा कुरा नमिल्दा १२ दिनमै एकता प्रक्रिया टुङ्गिएको हो।

रास्वपा पक्षले एकता भाँडिनुमा कुलमान घिसिङका अस्वाभाविक मागहरूलाई मुख्य कारण मानेको छ। रास्वपा नेताहरूका अनुसार घिसिङले प्रधानमन्त्री सरहको मर्यादाक्रमसहित आफ्ना सम्पूर्ण केन्द्रीय सदस्य र पदाधिकारीलाई रास्वपामा समायोजन गर्नुपर्ने सर्त राखेका थिए। साथै, समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्ना पक्षका मानिसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अडान र थप तीन पदाधिकारी पद (वरिष्ठ उपसभापति र एक महामन्त्री) को माग रास्वपाले अस्वीकार गरेको हो।

रास्वपा प्रवक्ता मनिष झा र नेता गणेश पराजुलीका अनुसार उनेपाले रास्वपाको हालको राजनीतिक सिद्धान्तमै पुनर्विचार गर्नुपर्ने माग राखेपछि सहमति असम्भव बनेको हो।

यता उज्यालो नेपाल पार्टीले भने रास्वपा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताका मुद्दामा प्रस्ट नभएका कारण एकता हुन नसकेको दाबी गरेको छ। नेता गणेश घिसिङले भने, ‘मुख्य विषय संघीयता र धर्मनिरपेक्षता हुन्। यी आधारभूत राजनीतिक मुद्दामा रास्वपा अस्पष्ट देखियो, अस्पष्टताका बीच सँगै जान सकिएन। पद र शक्ति गौण कुरा हुन्।’

जेनजी आन्दोलनपछि रास्वपा सभापति रवि लामिछाने, कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन्द्र शाहलाई एउटै मोर्चामा ल्याउने प्रयास भएको थियो। ‘हामी नेपाल’ पार्टीका सुदन गुरुङको मध्यस्थतामा भएको छलफलले पुस १४ मा आकार लिए पनि अन्ततः शनिबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले उनेपासँगको सहमति पत्र खारेज गरेको छ। सभापति रवि लामिछानेले उनेपाको पछिल्लो प्रस्ताव स्वीकार गर्न नसकिने बैठकमा बताएका थिए।

एकता प्रक्रिया भंग भएसँगै उज्यालो नेपाल पार्टीले नयाँ रणनीतिका साथ अघि बढ्ने तयारी गरेको छ। स्रोतका अनुसार पुस २८ गतेभित्रै अर्को कुनै शक्तिसँग सहकार्य गर्ने वा आफ्नै ढङ्गले समानुपातिक सूची सच्याएर प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने उनेपाको तयारी छ।

विगतमा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका कुलमान घिसिङ अब आफ्नै नेतृत्वको राजनीतिक दलमार्फत चुनावी मैदानमा होमिन तयार भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds