लोड हुँदैछ...

मेनु

यी हुन् शिलबन्दी गरिएका ७ फार्मेसी र तिनका बदमासी

यी हुन् शिलबन्दी गरिएका ७ फार्मेसी र तिनका बदमासी

विराटनगर । नेपाल औषधि व्यवस्था विभाग (डीडीए) विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा नोबेल अगाडिका ७ वटा फार्मेसीहरूमा शिलबन्दी गरिएको छ ।

च्याउसरी खुलेका तर कानुनी मापदण्डको धज्जी उडाएका यी पसलहरूले औषधिका नाममा बिरामीको हुर्मत लिइरहेको अनुगमन टोलीको निष्कर्ष छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार, कुल १४ वटा फार्मेसीको अनुगमन गर्दा ७ वटामा त्रुटी भेटिएपछि तत्कालै शिलबन्दी गरिएको हो ।
यी हुन बदमासी गर्ने सात फार्मेशी
अनुगमन टोलीले शिलबन्दी गरेका फार्मेसीहरूको सूची र तिनले गरिरहेको बदमासी सुन्दा सामान्य उपभोक्ता झस्कने अवस्था छ । सिताराम फार्मेसी यहाँ अनुसन्धान गर्दा नेपालमा दर्ता नै नभएका भेटिएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ । त्यसैगरी छिन्नमस्ता फार्मेसीले पनि दर्ता विनाका अवैध औषधिहरू बिक्री गरिरहेको फेला परेको थियो । धनगढी माई मेडिकलले लामो समयदेखि दर्ता नवीकरण नगरेको भेटिएको छ ।

सुसंस्कृति फार्मेसीमा औषधि पसलमा अनिवार्य रूपमा रहनुपर्ने ‘फार्मासिस्ट’ वा औषधि विज्ञ यहाँ भेटिएनन् । बिना विशेषज्ञ पसल सञ्चालन गरेर जोखिम निम्त्याइरहेको पाइएपछि यसमा पनि ताला लगाइएको विभागले जनाएको छ । त्यसैगरी आविष्कार फार्मेसीले मानवीय स्वास्थ्यका लागि विष बराबर मानिने ‘म्याद सकिएका’औषधिहरू भण्डारन गरेको भेटिएको छ । गोल्ड फार्मेसीले औषधी व्यवस्था विभागमा दर्ता नै नगरी ‘अण्डरग्राउण्ड’ शैलीमा औषधि व्यापार गरिरहेको पाइएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ ।

“हामीले सूचना र समाचारका आधारमा सघन अनुगमन थालेका हौँ,” सूचना अधिकारी खड्काले भने, “अनुगमनका क्रममा अधिकांशले मापदण्ड पालना नगरेको र बिरामी ठग्ने गरेको पुष्टि भएपछि हामीले शिलबन्दी गरेर थप अनुसन्धान सुरु गरेका छौँ ।”

नोबेल मेडिकल कलेज अगाडिको यो क्षेत्र औषधि पसलहरूको ‘हब’ जस्तो देखिन्छ । तर, यो हबभित्रको अवैध सञ्जाल डरलाग्दो छ । स्थानीय व्यवसायीहरूका अनुसार त्यस क्षेत्रमा करिब १०५ वटा औषधि पसल सञ्चालनमा छन् । तर, औषधि व्यवस्था विभागको आधिकारिक तथ्याङ्क पल्टाउने हो भने मात्र ६५ वटा पसल दर्ता भएका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।