विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र विचार, सिद्धान्त र राजनीतिक नैतिकताको चरम संकट देखिएको भन्दै नेतृ हीरामीरा दाहालले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय दाहालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी हुन् ।
पुस अन्तिम साता सम्पन्न नेकपा (एमाले) को ११औं महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुँदाका अनुभव अत्यन्तै निराशाजनक र चिन्ताजनक रहेको उल्लेख गरेकी छन् । विज्ञप्तिमा दाहालले महाधिवेशनको बन्दसत्र सञ्चालनका क्रममा तत्कालिन अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल राजनीतिक विचारप्रति राखेका नकारात्मक धारणाहरू सुनेर नै आफू त्यतिबेलै बन्दसत्रबाट बाहिरिएको बताएकि छिन् ।
पार्टीभित्र स्वस्थ राजनीतिक बहस र वैचारिक मन्थनको साटो व्यक्तिवादी शैली हाबी भएको, निष्ठावान र पुराना कार्यकर्ताको अपमान हुन थालेको र नीतिको साटो शक्तिको आडमा विधि मिच्ने प्रवृत्ति बढेकाले आफू गम्भीर रूपमा विचलित भएको उनले बताएकी छन् । विगतको तुलनामा एमाले वैचारिक रूपमा स्खलित भएको र त्यहाँ विधिभन्दा पनि व्यक्तिवाद र अराजकता मौलाएकाले यस्तो वातावरणमा बसेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न असम्भव देखेर पार्टी छाडेको उनले स्पष्ट पारेकी छन् । एमाले छाडेसँगै दाहालले अबको आफ्नो राजनीतिक यात्रा वृहत् कम्युनिष्ट एकताबाट निर्माण भएको नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा)को झण्डामुनि गोलबन्द भई अगाडि बढ्ने घोषणा गरेकी छन् ।
उनले समाजवादको आधार स्तम्भ तय गर्न र क्रान्तिकारी आन्दोलनलाई सही दिशा दिन आफू अविचलित रूपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् । एमालेमा सक्रि हुनु भन्दा अगाडी उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा कोशी प्रदेश कमिटी उपसचिव थिइन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।