विराटनगर । नेपाली कांग्रेसको पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशनले कोशी प्रदेशको राजनीतिमा ठूलो हलचल पैदा गरेको छ। पार्टीको संस्थापन र इतर पक्षबीचको आन्तरिक शक्ति सन्तुलनको रस्साकस्सी उत्कर्षमा पुगिरहेका बेला कोशीका १४ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं केन्द्रित हुन थालेका छन्।
कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोका अनुसार प्रदेशका कूल ७२८ महाधिवेशन प्रतिनिधिमध्ये बिहीबार अबेरसम्म करिब २७० जना काठमाडौं पुगिसकेका छन् भने ५९ जना बाटोमा रहेका छन्। मोरङ, झापा, सुनसरी र पहाडी जिल्लाहरूमा गगन थापा र विश्वप्रकाश शर्मा पक्षको पकड बलियो देखिएको छ, जसले संस्थापन पक्षलाई निकै दबाबमा पारेको छ।
मोरङ जिल्ला नेता डा. शेखर कोइरालाको गृह जिल्ला भए पनि यहाँका १५९ महाधिवेशन प्रतिनिधिमध्ये १०४ जनाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरिसकेका छन्। यसअघि कृष्णप्रसाद सिटौला पक्षमा दृढताका साथ उभिने खड्ग फागो अहिले विशेष महाधिवेशनको अभियानमा प्रदेशस्तरमै नेतृत्वदायी भूमिकामा देखिएका छन्। झापामा पनि झण्डै ५१ प्रतिशत प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं जाने तयारीमा छन्। झापामा प्रतिनिधिहरूलाई रोक्न विभिन्न प्रयासहरू भइरहेको चर्चा चले पनि महाधिवेशन पक्षधर नेता इन्द्र बुढाथोकीले हस्ताक्षर गर्नेहरू काठमाडौं पुगेरै छाड्ने बताए ।
यद्यपि, सिटौला निकट नेता गोपाल तामाङले पार्टी फुट्ने हल्लाले कतिपयमा अन्योल सिर्जना गरेको बताए पनि ५० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनकै पक्षमा रहेको स्वीकार गरेका छन्।
सुनसरीमा पनि विशेष महाधिवेशनको उत्साह कम छैन, जहाँ क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले नै विशेष महाधिवेशनमा जाने आधिकारिक निर्णय गरिसकेको छ। सुनसरीमा १२५ महाधिवेशन प्रतिनिधिमध्ये कम्तीमा ४५ जना जाने पक्का भइसकेको छ। पहाडी जिल्ला तेह्रथुममा त गगन थापा पक्षको स्पष्ट बहुमत देखिएको छ । जहाँ २६ मध्ये २१ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। धनकुटामा पनि २६ मध्ये १७ जनाले हस्ताक्षर गरेका छन् र उनीहरू आफ्नो अडानमा यथावत छन्। यी जिल्लाहरूले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेर आफ्नो राजनीतिक कित्ता प्रष्ट पारिसकेका छन्।
उदयपुरको राजनीतिमा झन् रोचक दृश्य देखिएको छ, जहाँ संस्थापन पक्ष शून्यप्रायः बनेको छ। सभापति हिमाल कार्कीका अनुसार ४१ जना प्रतिनिधिहरू गगन–विश्वप्रकाश समूहमा खुलेका छन्। कार्कीले उदयपुरमा अहिले संस्थापन पक्षका प्रतिनिधि कोही पनि बाँकी नरहेको टिप्पणी गरेका छन्। उदयपुरकै काँग्रेस नेता रामकुमार खत्री भने ५० प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु विशेष महाधिवेशनमा जानसक्ने बताउँछन् ।
इलाम, पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जस्ता जिल्लाहरूमा पनि ठूलो संख्यामा प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। पाँचथरका प्रतिनिधि पूर्ण तुम्बाफोले त अमेरिकाबाटै इमेलमार्फत् आफ्नो ऐक्यबद्धता जनाएका छन्। भोजपुरमा पनि १७ जना प्रतिनिधि खुल्ला रूपमा गगन थापाको पक्षमा देखिएका छन्, जसमा जिल्ला सभापति विनोद राई स्वयं अग्रपंक्तिमा छन्।
तर, यो लहरका बीच संस्थापन र शेखर पक्षका नेताहरूले भने संशय र प्रश्नहरू उठाएका छन्। शेखर समूहका नेता शमशेर राईले भनेका छन्, ‘हामीले पार्टीभित्र सुधार र छिटो महाधिवेशनका लागि हस्ताक्षर गरेका हौँ, तर पार्टी नै संकटमा पर्ने वा फुट्ने अवस्था आउँछ भने हामी सहभागी हुँदैनौँ ।’ त्यस्तै, संस्थापन पक्षका नेता तथा कोशीका उपसभापति रमेशजंग रायमाझीले मरेका र पार्टी छाडेकाहरूको नाम पठाएर संख्या बढाइएको दाबी गर्दै भने, ‘स्वयम् प्रतिनिधि उपस्थित नभएसम्म यति जान्छन् भन्न सकिने अवस्था छैन ।’ अर्का नेता बसन्त बस्नेतले त यसलाई विशेष महाधिवेशन नभएर ‘महामन्त्रीहरूको भेला’ मात्र भएको टिप्पणी गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।