काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने भय र भ्रम नराख्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले विशेष महाधिवेशनले पार्टीलाई कमजोर नभई झन् सुदृढ बनाउने र विभाजनको कुनै खतरा नरहेको प्रष्ट पारेका हुन्।
महामन्त्री शर्माले अर्का महामन्त्री गगन थापाले दिएको ‘विष पिउने’ अभिव्यक्ति र आफ्नो ‘हलबाट बाहिरिने’ अभिव्यक्तिबारे थप प्रष्टीकरण दिँदै सामाजिक सञ्जालमार्फत यस्तो प्रष्ट पारेका हुन्।
उनले लेखेका छन्, ‘पार्टी एकता जोगाउन विष पिउन तयार ! विभाजन हुन लागे हलबाट बाहिरिने१ हामीले यो भन्नुको अर्थ हो— विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न। फुट्ने भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह !’
शर्माले विशेष महाधिवेशनको औचित्यमाथि प्रकाश पार्दै यो बदलिएको समय अनुसारको कांग्रेस निर्माण र देशको रूपान्तरणका लागि आवश्यक रहेको बताएका छन्। उनले थपेका छन्, ‘दोस्रो विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो।’
यसअघि बिहीबार पनि महामन्त्री शर्माले विशेष महाधिवेशन हुँदा पार्टी विभाजन नहुने जिकिर गरेका थिए। यदि त्यस्तो अवस्था आएमा सबैभन्दा पहिले आफू हलबाट बाहिरिने बताउँदै उनले एकताका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।