विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई आफूहरूले अमेरिकामा कुनै पनि कार्यक्रमका लागि निमन्त्रणा नगरेको स्पष्ट पारेको छ।
संस्थाको नाम, ईआईएन नम्बर र डिजिटल पहिचान दुरुपयोग गरी अनधिकृत रूपमा कार्यक्रम र भ्रमण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै संघले मन्त्री गुप्तालाई कुनै पनि युवासम्बन्धी कार्यक्रमका लागि नबोलाइएको प्रष्ट पारेको हो।
संघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, केही व्यक्ति वा समूहले एनआरएनए अमेरिकाको आधिकारिक स्वीकृति र निर्णयबिना नै संस्थाको पहिचान प्रयोग गरी गतिविधि गरिरहेको फेला परेको छ। यस्ता अनधिकृत कार्यक्रम, भ्रमण वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै संलग्नता वा सम्बन्ध नरहेको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो नाम र पहिचान दुरुपयोग भएको विषयलाई अत्यन्त संवेदनशील रूपमा लिँदै एनआरएनए अमेरिकाले यसबारे अमेरिकी होमल्याण्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको नाम र पहिचान प्रयोग गरी हुने यस्ता कार्यले कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी गम्भीर जोखिम उत्पन्न गरेको छ। आधिकारिक स्वीकृतिबिना संस्थाको नाम प्रयोग गर्ने जो(कोही विरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।’
एनआरएनए अमेरिकाले कानुनी रूपमा दर्ता भएको आफ्नो संस्थाको पहिचान दुरुपयोग गर्नु अपराध भएको ठहर गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूह नै पूर्ण रूपमा जिम्मेवार हुने चेतावनी समेत दिएको छ। साथै, संस्थाको आधिकारिक स्वीकृतिबिनाका कुनै पनि गतिविधिमा सहभागी नहुन सबैमा सचेत गराइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।