लोड हुँदैछ...

मेनु

कांग्रेस विशेष महाधिवेशन: कोशीका ७२८ मध्ये बहुमत प्रतिनिधि काठमाडौँतर्फ

कांग्रेस विशेष महाधिवेशन: कोशीका ७२८ मध्ये बहुमत प्रतिनिधि काठमाडौँतर्फ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले कोशी प्रदेशबाट विशेष महाधिवेशनका लागि दुई तिहाइ प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरेका छन् ।

सहमहामन्त्री फागोका अनुसार विशेष महाधिवेशनका लागि कोशी प्रदेशबाट उत्साहजनक सहभागिता देखिएको छ । उनले भने, “हामी विशेष महाधिवेशन प्रतिनिधिको लागि कोशी प्रदेशबाट २७७ जना काठमाडौं पुगिसकेका छौँ । आज मात्रै ६९ जना साथीहरू यात्रामा हुनुहुन्छ र भोलिसम्ममा अत्यधिक प्रतिनिधिहरू काठमाडौं पुग्ने क्रम जारी छ ।”

कोशी प्रदेशमा कुल प्रतिनिधि संख्या करिब ७२८ को हाराहारीमा रहेको बताउँदै उनले तीमध्ये ठूलो हिस्सा विशेष महाधिवेशनको पक्षमा उभिएको बताए । “कोशीको बहुमत मात्र होइन, करिब दुई तिहाइ प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा छन्,” फागोले दाबी गरे ।

पहिले सभापति शेरबहादुर देउवाको समूहमा देखिएका फागो अहिले पार्टी रूपान्तरण र गगन–विश्वको लाइनमा उभिनुको कारण पार्टीको बिग्रँदो अवस्थालाई ठानेका छन् । उनले वर्तमान नेतृत्वले कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई सत्तासँग साटेको आरोप लगाए । “हामीलाई कुनै पात्र वा समूहभन्दा पनि नेपाली कांग्रेसको अस्तित्व ठूलो हो,” फागोले भने, “७६ जना सहिदको रगतले सिँचित यो पार्टी आज एमाले र माओवादीको सहारामा मात्र सत्तामा पुग्ने खेलमा लागेको छ । सिद्धान्त र विचारहरू गौण भए, सत्ता र शक्ति मात्रै प्राथमिकतामा पर्यो ।” उनले अगाडि थपे, “अहिलेको नेतृत्वले कांग्रेसलाई एमाले र माओवादीको पिछलग्गु बनाएको छ । हामी यो ‘घुँडा टेकेको नेपाली कांग्रेस’लाई फेरि आफ्नो खुट्टामा उभिने र हिँड्ने बनाउन चाहन्छौँ ।”

विशेष महाधिवेशनको मुख्य एजेन्डामध्ये एक ‘निर्वाचनअघिको गठबन्धन’ अन्त्य गर्नु पनि हो । फागोले पार्टीले आफ्नो नीति र सिद्धान्तअनुसार एक्लै चुनाव लड्नुपर्ने धारणा राखे । “गठबन्धनले गर्दा कांग्रेसको आफ्नै संगठन कमजोर भयो । एमाले र माओवादीसँगको अप्राकृतिक गठबन्धनले कांग्रेसको पहिचान मेटिँदै छ,” उनले भने ।

उनले राप्रपा र एमालेको उदाहरण दिँदै भने, “एमाले मार्क्सवाद–लेनिनवाद भन्छ, राप्रपा राजसंस्था र हिन्दू राष्ट्र भन्छ । यिनीहरूको गठबन्धन सत्ताका लागि मात्र हो, सिद्धान्त त गौण भइसक्यो । कांग्रेस पनि त्यही बाटोमा हिँड्नु घातक छ ।”

विशेष महाधिवेशन हुने कि नहुने भन्ने अन्योलका बीच फागोले विधानको व्यवस्थालाई बलियो आधार मानेका छन् । उनले ५४ प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न सक्ने र त्यो अधिकार विधानले दिएको स्पष्ट पारे ।

“विधानको धाराअनुसार विशेष कारण खुलाएर विशेष महाधिवेशन माग गर्ने अधिकार हामीसँग छ । कसले हुन्छ भन्छ, कसले हुँदैन भन्छ, त्यो गौण कुरा हो । ५४ प्रतिशत प्रतिनिधिले चाहेपछि यो भएरै छाड्छ,” उनले दृढताका साथ भने ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, “विशेष महाधिवेशन भनिसकेपछि नयाँ नेतृत्व पनि आउन सक्छ, अन्य नेतृत्व र नीतिमा फेरबदल पनि हुन सक्छ । यो सबै पार्टीलाई जीवन्त बनाउनका लागि हो ।”

कोशी प्रदेशका सहमहामन्त्री फागोले आफू अहिले काठमाडौँमा रहेका र आउने क्रममा रहेका प्रतिनिधिहरूको व्यवस्थापन र समन्वयमा सक्रिय रहेको बताए । “म कोशीका साथीहरूसँग आन्तरिक रूपमा समन्वय गरिरहेको छु । हामीले १६ वटा विभिन्न समितिहरू बनाएर काठमाडौँमा व्यवस्थापन गरिरहेका छौँ,” उनले जानकारी दिए । फागोले पार्टीको रूपान्तरण अपरिहार्य रहेको र यसका लागि आफू जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds