संखुवासभा । कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेले फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको बताएका छन्।
संखुवासभाका मातहत प्रहरी कार्यालयको निरीक्षणका क्रममा बिहीबार घिमिरेले निर्वाचन सम्पन्न गराउनु सरकारको संवैधानिक म्यान्डेट भएकाले यसमा सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको बताए ।
‘अहिलेको सबैभन्दा ठूलो अर्जुन दृष्टि भनेकै फागुन २१ को निर्वाचन हो,’ घिमिरेले भने, ‘निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकाय मात्र होइन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।’ उनले प्रहरी एक्लैले मात्र निर्वाचनलाई सफल बनाउन नसक्ने उल्लेख गर्दै सबै सरोकारवालाबीच समन्वय र सहयोग आवश्यक रहेको बताए।
सञ्चारकर्मीले तथ्यपरक र जिम्मेवार रिपोर्टिङमार्फत जनतामा विश्वास कायम गर्न ठूलो योगदान दिनसक्ने उनको भनाइ थियो। डिआईजी घिमिरेका अनुसार जिल्लाका मतदान केन्द्रहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षा योजना तयार पारेर आवश्यक जनशक्ति परिचालन गरिने उनले जानकारी दिए।
‘हरेक मतदान केन्द्र र स्थलमा गम्भीरतापूर्वक सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘निर्वाचन प्रक्रिया लोकतन्त्रको मेरुदण्ड भएकाले कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन दिन्नौं।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।