लोड हुँदैछ...

मेनु

१२ वर्षपछि तोडियो धनकुटा कांग्रेसको संसदीय खडेरी

१२ वर्षपछि तोडियो धनकुटा कांग्रेसको संसदीय खडेरी

विराटनगर । संसदीय राजनीतिमा धनकुटा जिल्ला र नेपाली कांग्रेसबीच एउटा विचित्रको सम्बन्ध रहँदै आएको छ— पुरानो इतिहास तर प्रत्यक्ष निर्वाचनमा सधैँ रित्तो हात । तर, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनले धनकुटा कांग्रेसको त्यो पुरानो र नमीठो ‘रेकर्ड’ उल्टाइदिएको छ ।

कांग्रेस र एमालेको बलियो समीकरणको जगमा सुनील बहादुर थापा कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएसँगै धनकुटा कांग्रेसको १२ वर्ष लामो संसदीय रिक्तता विधिवत् रूपमा अन्त्य भएको छ ।

कोशी प्रदेशको अन्य समूहबाट उम्मेदवारी दिएका थापाविरुद्ध अन्य कसैको पनि उम्मेदवारी परेन । नेकपाका उम्मेदवार हेमराज घिमिरेले उम्मेदवारी दर्ता गर्न उनी निर्धारित समयमा निर्वाचन अधिकृतको कार्यालय पुग्न सकेनन् । यसलाई कतिपयले थापाको ‘भाग्य’ भनेर व्याख्या गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंका अनुसार थापाको मात्र उम्मेदवारी परेपछि उनी बिना प्रतिस्पर्धा सदनमा पुग्ने निश्चित भएको हो ।

२०६४ सालमा लिला सुब्बा र २०७० मा मनोहर नारायण श्रेष्ठ तथा अन्जना ताम्ली समानुपातिकबाट संविधानसभा सदस्य भएयता धनकुटा कांग्रेसको उपस्थिति केन्द्रमा शून्य प्राय थियो । प्रत्यक्ष निर्वाचनमा कहिल्यै जित्न नसकेको र समानुपातिकमा पनि पछिल्लो एक दशकदेखि अवसर नपाएको धनकुटा कांग्रेसका लागि थापाको यो पुनरागमनलाई ‘राजनीतिक पुनर्जीवन’ मानिएको छ ।

जिल्ला सभापति दिनेश राई भन्छन्, ‘प्रत्यक्षमा अहिलेसम्म नफापे पनि यसपटक धनकुटा कांग्रेसको राजनीतिक ग्रहदशा काटिएको छ । यो जितले कार्यकर्तामा नयाँ उत्साह थपेको छ ।’

पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनीलको राजनीतिक यात्रा आफैँमा रोचक छ । संयुक्त राष्ट्र संघको उच्च ओहोदामा रहेकै बेला २०११ मा सुडानबाट राजीनामा दिएर राजनीतिमा होमिएका थापा २०७० मा राप्रपाबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

२०७७ मा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेपछि उनले पार्टीको सह(महामन्त्री र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । २०७९ को चुनावमा एमालेका राजेन्द्र राईसँग पराजित भएपछि उनी ओझेलमा परेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारको भूमिका त्याग गरी चुनावी मैदानमा उत्रिएका थापालाई यसपटकको समीकरणले सदनको ढोका खोलिदिएको छ ।

कांग्रेसभित्र पछिल्लो समय महामन्त्री गगन थापा पक्षमा ढल्किएका सुनीललाई राष्ट्रिय सभामा पठाउनुमा संस्थापन पक्षको आफ्नै रणनीति रहेको बताइन्छ । उनलाई राष्ट्रिय सभामा पठाएर जिल्ला र केन्द्रको शक्ति सन्तुलन मिलाउने रणनीतिका कारण उनले टिकट पाएका थिए ।

सुनील बहादुर थापा निर्विरोध भए पनि कोशी प्रदेशमा बाँकी दुई पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ । एमाले –कांग्रेस गठबन्धनबाट दलितमा सोम पोर्तेल र महिलामा रोशनी मेचे चुनावी मैदानमा छन् भने उनीहरूलाई नेकपाका खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिँदैछन् । माघ ११ को निर्वाचनले कोशीको बाँकी प्रतिनिधित्वको टुङ्गो लगाउने भए पनि सुनील बहादुर थापाको निर्विरोध विजयले भने धनकुटा कांग्रेसको इतिहासमा एउटा महत्वपूर्ण अध्याय थपिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds