काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सरकारले ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । निर्वाचन सुरक्षालाई सुदृढ बनाउन १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
ुनेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ु अनुसार निर्वाचन प्रहरी भर्नाको तयारी गरिएको हो । नेपाल प्रहरीले एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकहरूलाई आगामी माघ १० गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।
यस पटकको भर्नामा सुरक्षा निकायको अनुभव भएकाहरूलाई विशेष प्राथमिकता दिइएको छ । पूर्व प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट अवकाश पाएका व्यक्तिहरूले यसमा आवेदन दिन सक्नेछन् । त्यस्तै, विदेशी सुरक्षा फौजमा काम गरेका अनुभवीहरूलाई पनि प्राथमिकताको सूचीमा राखिएको छ ।
यसबाहेक, २०८२ पुससम्म सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएका उम्मेदवारहरू र यसअघिका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्तिहरूलाई पनि छनौटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
भर्नाका लागि आवेदन दिने पुरुष उम्मेदवारको उचाइ कम्तीमा ५ फिट २ इन्च हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम ४ फिट १० इन्च उचाइ तोकिएको छ । साथै, महिला आवेदकहरू गर्भवती नभएको हुनुपर्ने प्रावधान राखिएको छ । निर्वाचन कार्यतालिका अनुसार प्राप्त आवेदनहरूबाट उम्मेदवारहरूको छनौट गरी आगामी माघ १५ गतेदेखि प्रशिक्षण सुरु गरिनेछ । तालिम पश्चात् उनीहरूलाई निर्वाचन सुरक्षाका लागि देशका विभिन्न मतदान केन्द्रहरूमा परिचालन गरिनेछ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले यो ठुलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गर्न लागेको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।