लोड हुँदैछ...

मेनु

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका आज

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका आज

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ९बिहीबार० उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको योग्यता वा अन्य विषयमा दाबी विरोध भएमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको हो ।

यसअघि बुधबार सातवटै प्रदेशका राजधानीमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको मनोनयनपत्र उत्साहजनक र शान्तिपूर्ण रूपमा दर्ता भएको थियो । रिक्त रहेका १९ सिटका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार आज परेका उजुरी र दर्ता भएका मनोनयनपत्रमाथि पुस २५ र २६ गते जाँचबुझ गरिनेछ । जाँचबुझ पश्चात् सोही अवधिमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी, पुस २७ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने समय तोकिएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

आगामी माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । यस निर्वाचनबाट रिक्त हुने १९ सदस्यका लागि मतदान हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds