विराटनगर । माघ ११ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन भइसकेको छ । कोशी प्रदेशमा ३ पदका लागि ५ जनाको उम्मेद्वारी परेको छ । अन्य तर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध भएका छन् ।
काँग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेका सोम पोर्तेल (दलित) र रोशनी मेचे (महिला) तथा नेकपाको तर्फबाट दलितमा खेम सुन्दास र महिलामा नमिता न्यौपानेको उम्मेद्वारी परेको छ । उम्मेदवारी दिएका नेताहरू अब आफ्ना एजेन्डासहित मतदाता (प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख) कहाँ पुग्ने छन् । काँग्रेस–एमाले र जसपाको मतभार दुई तिहाई बढी भएकोले उनका उम्मेद्वारले नै जित्नेमा शंका छैन । तर, उनीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारले चुनौति दिँदैछन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । दलित कोटाबाट कोशीबाट माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।
मनोनयनपछि भोली (पुस २४ गते) उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै पुस २८ गते निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । मतदान माघ ११ गतेका लागि राखिएको छ ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्र्रको १ हजार २९७, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
यद्यपि राष्ट्रियसभाको यसअघिका दुईवटा निर्वाचनमा दलहरुबीच गठबन्धन भएपनि कोशी प्रदेशमा पूर्ण सफल हुन भने सकेको छैन । २०७८ साल माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा मत क्रस हुँदा तत्कालिन सत्ता गठबन्धन (काँग्रेस–माओवादी–नेकपा एस–जसपा)का उम्मेद्वार हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । तर, त्यसबेला सत्ता गठबन्धनको मत र एमाले गठबन्धनको मतको अन्तर निक्कै कम थियो । त्यसबेला स्थानीय तहतर्फबाट गठबन्धनका २९ जनाले फ्लोर क्रस गरेर एमालेका शेर्पालाई मत दिएका थिए ।
यस्तै २०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा रोचक हारजित भएको थियो । सत्तारुढ गठबन्धन (काँग्रेस–माओवादी– नेकपा एस)को मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् । गठबन्धनका अर्का उम्मेद्वार काँग्रेसका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गठबन्धनको सबै मत पाएका थिएनन् ।
सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा विपक्षी गठबन्धन (एमाले–राप्रपा)का उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले १ जना सांसदको मत पाए । यसैगरी स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाएका थिए ।
उता, महिलातर्फको निर्वाचनमा भने सत्ता गठबन्धनकी उम्मेद्वार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेकी थिइन् । गठबन्धन गर्दा यसअघिका राष्ट्रियसभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठूला पार्टी काँग्रेस र एमालेले आफ्ना उम्मेद्वार सुरक्षित गर्न सफल भएका थिए भने तेस्रो दल माओवादी भने असुरक्षित बनेको थियो ।
यद्यपि २०७८ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा काँग्रेस, तत्कालिन माओवादी र नेकपा (एकीकृत समाजवादी)लगायतले गठबन्धन गरेका थिए भने एमाले र राप्रपाले अर्को गठबन्धन गरेका थिए । यद्यपि उक्त निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनले मत बढी हुँदा हुँदै पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो । यस पटक राप्रपाले भने आफ्नो उम्मेद्वारी दर्ता गरेन । राप्रपाले मत कसलाई दिन्छ दिँदैन ? वा दिएपनि कसलाई दिन्छ भन्ने विषय खुलिसकेको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।