लोड हुँदैछ...

मेनु

नमिता न्यौपाने : विद्यार्थी नेता हुँदै राष्ट्रिय सभा उम्मेदवार

नमिता न्यौपाने : विद्यार्थी नेता हुँदै राष्ट्रिय सभा उम्मेदवार

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट महिलातर्फ नमिता न्यौपानेलाई नेकपाले उम्मेदवार बनाएको छ ।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेकी न्यौपानेलाई संसदीय भूमिकाका लागि नेकपाले चुनावी मैदानमा पठाएको हो । मोरङको केरावारीमा २०३७ साल असार २ गते जन्मिएकी न्यौपाने हाल विराटनगर महानगरपालिका वडा नं. ४ मा स्थायी बसोबास गर्छिन् । उनको राजनीतिक यात्रा झण्डै तीन दशक लामो छ ।

नमिता न्यौपानेको राजनीतिक जग विद्यार्थी आन्दोलन हो । उनले २०४८÷४९ सालदेखि नै वामपन्थी विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएर काम सुरु गरेकी थिइन् । २०६८ सालसम्म उनी विद्यार्थी संगठनका विभिन्न तह र तप्कामा रहेर नेतृत्वदायी भूमिकामा सक्रिय रहिन् । विद्यार्थी राजनीतिले नै उनलाई वैचारिक र सांगठनिक रूपमा खारिने अवसर दियो ।

उनले तत्कालिन माओवादी पार्टीको क्षेत्रीय कमिटी हुँदै विराटनगर महानगर कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरिन् । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार बने पनि उनी पराजित बनिन् । राष्ट्रिय सभालाई संसद्को माथिल्लो र गरिमामय निकाय मान्दै उनले नीति निर्माणमा आफ्नो प्रभावकारी भूमिका रहने बताएकी छन् । ‘राष्ट्रिय सभा नीति निर्माण गर्ने सर्वोच्च थलो हो, मेरो उम्मेदवारी देशका लागि आवश्यक नीतिहरू बनाउन र पार्टीको एजेण्डालाई स्थापित गर्नका लागि हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds